सुदूरपहाडी जिल्लामासुपथ मूल्य पसल अझै सञ्चालनमा आएनन्

१३ असाेज, बैतडी । चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेपनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । प्रदेशअन्तर्गत कैलालीको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा रहेको साल्ट टे«डिङ्ग कर्पाेरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीले जनाएको छ । ती स्थानमा यही असोज २ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको कार्यालय प्रमुख तथा नायब कार्यकारी अधिकृत केशवप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

विगतका वर्षमा दसतिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दसैँतिहार तथा छठलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो ।

पहाडी जिल्लामा तत्काल सुपथ मूल्य पसल सञ्चालन गर्ने सम्भावना नरहेको उहाँको भनाइ छ । आन्तरिक राजस्व कार्यालयले अनलाइन बिलिङ काटेर मात्रै सामग्री बिक्री गर्न भन्ने गरेको र सबै ठाउँमा जनशक्ति, कम्प्युटर, सफ्टवेयर र इन्टरनेटलगायत सुविधा नभएकाले अन्य स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिने बताइएको छ ।

उहाँले भन्नुभयो, अनलाइन बिलिङ काट्नुपर्ने अवस्था छ, हामीसँग जनशक्ति नहुँदा पहाडी जिल्लामा त्यो सम्भव छैन । पहाडी जिल्लामा सुपथ मूल्य पसल सञ्चालनका लागि सम्बन्धित पालिकाले चाँसो देखाउनुपर्ने उहाँले बताउनुभयो । कुनै स्थानीय तहले सुपथ मूल्य पसल सञ्चालन गर्छु भनेर आउँछ भने हामीले खाद्यान्न सामग्री उपलब्ध गराउँछौ, हामी आफैंले सञ्चानल गर्न सम्भव छैन ।

” पालिकाहरुले सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस मागेर कर्पोरेसनमा गयो भने सामग्री उपलब्ध गराउनेछ । चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि सञ्चालनमा नआउँदा यस क्षेत्रका उपभोक्ता बजारबाट महँगो दरमा सामान किन्न बाध्य भएका छन् ।

सुपथ मूल्य पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी, नून, चामल, दाल, साबुन, तेल, चिउरालगायतका अन्य खाद्य सामग्री किन्न पाइन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाइको छ ।

यसैबीच कैलालीको अत्तरिया र धनगढीमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा पनि चिनीको अभाव रहेको प्रमुख पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो, माथिबाटै चिनी आएको छैन, हाम्रो केन्द्रीय कार्यालयमै चिनीको अभाव छ, त्यसैले चिनीबाहेकका अन्य खाद्य सामग्री बिक्री गरिरहेका छौं ।



मल्टिमिडिया ग्यालरी

Badi PahiroBusinesbusinessCoronaviruscovid 19 updateCovid-19digital khabarhealthNepali NewsRain
Comments (0)
Add Comment