आज हरितालिका तीज मनाईदै, काेराेना महामारीले यसपटक पनि छैन तिजकाे उल्लास

२४ भाद्र, काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

पति अनि परिवारको रक्षार्थ आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान स्वयं धर्तीमा झर्छन् जस्तो भान हुन्छ । हिजोको दरको भरमा आज आस्था र परम्पराको एउटा सहृदय अर्चना गरिन्छ । निराहार र निर्जला व्रत बस्ने चलनलाई भने आज हामी यस आलेखको शुरुमै परिमार्जन गरेर आफ्नो स्वास्थ्य सुहाउँदो तवरले सहज र सरल व्रत बस्ने परामर्श दिन चाहन्छौँ ।

पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुन्छ । लगभग आजको दिन पशुपतिनाथ मन्दिर परिसर रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।

वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकाले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा. रामचन्द्र गौतम बताउँछन् ।

‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ’, उनले भने । ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनिमात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुन्छ ।

स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने पनि उनले जानकारी दिए । श्रीमान्को दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा.देवमणि भट्टराईले बताए ।

‘अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ’, उनले भने ।

नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेको अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेको धर्मशास्त्रीको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ ।

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको धर्मशास्त्रीय मान्यता छ । तीजको व्रत हिन्दु मात्रका लागि नभई मानव मात्रका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरुमा उल्लेख गरिएको बताइन्छ ।

‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने पनि धर्मशास्त्रविद् गौतमले बताए । त्यसको अर्थ हुन्छ यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो । पुरुषले घर बाहिरको काम गर्ने र महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घरलगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको बुझिन्छ । प्रायः घरमा धर्मकर्मका काम महिलाले नै गर्छन् ।

सनातन हिन्दू महिलालगायत अधिकांंश नेपाली महिला हृदय आज पूर्णत् तीजको रङ्गमा रङ्गिएको छ ।

‘तीज’  महिलाहरूको चाड भनेर निकै लेप लगाइए पनि पुरुष र महिलाहरू दुवैका लागि यो चाड एकदमै महत्वपूर्ण छ । महिलाहरूले जसरी आफ्नो श्रीमान् र भविष्यमा हुने श्रीमानका लागि व्रत बस्ने तीज जस्तो चाडको अवसर प्रदान गरिएको छ । तर पुरुषहरूका लागि भने महिलाप्रति समर्पित यस्तो कुनै व्रत या चाडको इतिहास छैन । तथापि पुरुषहरूले आफ्नो जिम्मेवारी वहन गरेर महिलाहरूप्रति थप जिम्मेवार, माया र सद्भाव बढाएर आफ्नो स्नेह बाँचुञ्जेल प्रवाह गर्न सक्छन् ।

आजको दिन चेली अनि माइतीको विशेष सम्बन्ध छ । तीजको रौनक माइतको आँङ्गनजस्तो अरु कुनै ठाउँमा हुनै सक्दैन । महिलाहरूलाई माइतीको विशेष स्नेह हुन्छ । माइतीको आँङ्गनमा तीजको उत्साह अनि चहल–पहल र सँगैका सङ्गीहरूका साथ माइती गाउँका आफन्त प्रियजनहरूसँगको भेटघाट लगायतका रमाइला गतिविधिहरू तीजको सदियौँदेखि चलिआएको जीवन्त संस्कृति हो ।

‘तीज’ शब्द नामाकरण कसरी भयो भन्ने कुरामा हामीले थोरै अध्ययन गर्यौं । जसमा प्राप्त जानकारीलाई यहाँहरूमाझ राख्दैछौँ । तीज वर्षा याममा निस्कने एकप्रकारको किरा भएको र वर्षायामको उत्तराद्र्धमा भएको यो चाडको नामाकरणको कथा यसै वर्षे किरासँग सम्बन्धित भएको पनि पायौँ । अर्कोतर्फ तिहार, त्योहार भन्नाले उत्कर्षको चाडका रूपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्योहारबाट तीजको स्वरूपमा आएको कुराहरू पनि पायौँ ।

यस वर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर नखुल्ने भएको छ । पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले तीज व्रतको भोलिपल्ट यही भदौ २५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ ।

पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजन आउन पाउने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । पशुपति क्षेत्रमा आउँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न भने कोषले आह्वान गरेको छ । पशुपतिनाथबाहेकका अन्य धेरै मन्दिर खुलेकाले भक्तजनलाई सजिलो भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarFestivalGirlhealthLockdownnepalPashupatinathPolitictechnologyTeejतिज
Comments (0)
Add Comment