मध्यभोटेकोशीको आइपीओ पुनः निश्कासनमा

०५ साउन, काठमाडौं । आयोजना प्रभावित र सिन्धुपाल्चोकका अन्य क्षेत्रका बासिन्दाका लागि मध्यभोटेकोशी जलविद्युत कम्पनीले निष्कासन गरेको आईपीओमा पुनः आवेदन खुलेको छ ।


कम्पनीले बैशाख २१ गतेदेखि स्थानीय समूहका लागि छुट्याइएको कुल ६० लाख कित्ता आइपीओ निश्कासन गरेको थियो । ती सेयरहरुमा आवेदन लिने काम कोरोना संक्रमण बढेसँगै बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको थियो ।

निश्कासित सेयरहरुमा मंगलबार(साउन ५ गते)देखि पुनः आवेदन आह्वान गरिएको हो ।


कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो।

सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ गाविस र साविक मानेश्वरा गाविस)मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण सेयर र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण सेयर निष्कासन गरिएको हो।

आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि पुनः निष्कासन गरिएको आईपीओमा छिटोमा साउन १७ गतेभित्र र ढिलोमा साउन ३२ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउनेछन्।

कम्पनीले पुँजी रु. ६ अर्बको १५ प्रतिशत अर्थात रु. ९० करोडबराबरको ९० लाख कित्ता साधारण सेयरमध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको र बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ।

सर्वसाधारणका लागि आईपीओ निष्कासन भने केही समयपछि गरिने बताइएको छ।

आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकका रुपमा प्रभु क्यापिटल, एनआईबिएल एस क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सीबीआईएल क्यापिटल रहेका छन्।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment