सिड्नीमा एक हप्ता लकडाउन थपियो

२७ असार, बीबीसी । सिड्नीका वासिन्दाहरु थप अर्को हप्ता लकडाउनमा रहनुपर्ने भएको छ । न्यु साउथ वेल्स सरकारले यसबारे जानकारी गराउँदै अधिक संक्रमक मानिएको डेल्टा भेरियेन्ट विरुद्ध लड्न यस किसिमको कठिन निर्णय लिनु परेको बताएको छ । त्यहाँ २६ जुनका दिनदेखि नागरिकहरुलाई घरैमा बस्ने निर्देशन जारी गरिएको थियो ।

तर अतिआवश्यक कामका लागि बाहिरिएका केही मानिसहरु भाइरसबाट संक्रमित भएपछि कोरोना फैलने क्रम रोकिन सकेन । लकडाउनमा सिड्नी भरका झन्डै ५० लाख मानिसहरु यतिबेला घरैमा बस्न बाध्य भएका छन् जुन यही शुक्रबार खुलाइने भनिएको थियो । तर अब भने जुलाई १६ सम्मका लागि लकडाउन थपिएको छ । स्कुलहरु पनि अर्को हप्तासम्म बन्दै रहने बताइएको छ ।

यसरी लकडाउनले परिवार र व्यवासयहरुमा पुर्याएको स्ट्रेस र पीडाबारे आफूहरु जानकार रहेको न्यु साउथ वेल्स सरकारले जनाएको छ । तरपनि दैनिक संक्रमितहरु वृद्धि भइरहनु र खोप अभियानको सञ्चालन कम स्तरमा हुनुले लकडाउन बढाउनै पर्ने भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

अष्ट्रेलियाका १० प्रतिशत भन्दा कम नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । विशेषगरी फाइजर खोपको आपूर्ति अभाव हुँदा धेरैले वर्षको अन्त्यसम्म मात्र खोप लगाउन पाउने देखिएको छ ।

प्रिमियर ग्लेडिस बेरेजिकलिआनले बुधबार भनेका छन्, “सबै नागरिकहरुले खोप लगाइसक्नु अगाडिको यो अन्तिम लकडाउन होस् भन्ने सुनिश्चित गर्न हामी सक्दो प्रयास गर्नेछौँ । हामी ‘लकडाउन हटाउँदै फेरि लकडाउन गर्दै’ गर्ने अवस्थामा पुग्न चाहँदैनौ ।”

अष्ट्रेलियामा हालै फैलिएको डेल्टा भेरियेन्ट संक्रमणबाट सिड्नी शहर सबैभन्दा नराम्ररी प्रभावित भइरहेको छ । होटल क्वारेन्टिन मार्फत भाइरस फैलिएपछि सरकारले प्रमुख शहरहरु : ब्रिस्बेन, डार्विन र पर्थमा पनि लकडाउनको घोषणा गरेको हो जसले देशभरको आधा जनसङ्ख्यालाई प्रभावित गरेको थियो । तर निकायहरुले ती शहरमा भाइरस नियन्त्रणमा लिएपछि अघिल्लो हप्ता नै लकडाउन अन्त्य गरिएको थियो ।

अष्ट्रेलियाले लकडाउन र तिव्र कन्ट्याक्ट ट्रेसिङ मार्फत भाइरस विरुद्ध सफलता हासिल गर्दै आएको छ । अझैसम्म पनि त्यहाँ तुलनात्मक रुपमा संक्रमण र मृत्युदर कमै मानिन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment