सवारी दुर्घटनामा परेर तीन वर्षदेखि कोमामा रहेकी मोडल निशा घिमिरेको उपचार नर्भिक अस्पतालले गर्ने

२८ जेठ, काठमाडौं । सवारी दुर्घटनामा परेर तीन वर्षदेखि कोमामा रहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ । नवजीवन परोपकार समाजका अध्यक्ष तथा सामाजिक अभियन्ता दुर्गानाथ दाहालको विशेष पहलमा र नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी सहयोगमा उनको बिहीबार उद्धार गरिएको हो ।

तीन वर्षअघि अभिनयको कोर्स पढ्न भारतको देहरादून जाँदै गर्दा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएकी निशालाई बिहीबार ललितपुरको बतासेस्थित उनकै घरबाट नर्भिक अस्पताल ल्याइएको हो । आज बिहान उद्धार गरिएकी निशाको नर्भिक अस्पतालमा राखेर उपचार थालिएको छ । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको छ ।

नवजीवनको प्रयासमा कलाकार तथा मोडल निशा घिमिरेको नर्भिक अस्पतालमा निशुल्क उपचार हुँदै

शरीरका महत्वपूर्ण अंगहरू जस्तै, मुटु, मृगौला, कलेजो, फोक्सो लगायतमा ठूलो समस्या देखिएको छैन । नर्भिकका चिकित्सकहरूले निशाको अवस्थामा सुधार हुने अपेक्षा गरेका छन् । “पहिलाजस्तै मोडलिङ नै गर्ने गरी त ठिक नहोला तर कम्तीमा आफैं हिँडडूल गर्नसक्ने, आफैँ खानसक्ने र केही बोल्नसक्नेसम्म पनि भयो भने पनि धेरै हुन्छ,” नर्भिक अस्पतालका चिकित्सकहरूलाई उद्धृत गर्दै नवजीवन परोपकार समाजका संचालक दुर्गानाथ दाहालले डिजिटल खवरलाई बताउनुभयो ।

“दुर्घटनालगत्तै उनको भारतकै अस्पतालमा उपचार गरिएको थियो । तर त्यहाँको अस्पतालको उपचार महङ्गो भएपछि कमजोर आर्थिक अवस्थाका उनका बुबाआमाले छोरीलाई नेपालमै ल्याएका थिए । काठमाडौंमा ल्याएर निशाको ३ महिनासम्म ट्रमा सेन्टरमा उपचार गरिएको थियो । तर, उनको अवस्थामा सुधार हुन नसकेपछि चिकित्सकहरूकै सल्लाहअनुसार उपत्यकाका विभिन्न क्षेत्रका थेरापी सेन्टरहरूमा कलाकार घिमिरेको लगातार थेरापी गरिएको थियो । नियमित थेरापी गर्न समेत आर्थिक अभाव भएको र त्यही बीचमा कोरोनाको संक्रमणसमेत बढेपछि उनलाई घरमै राखिएको थियो ।”

“आमाबुबा दैनिक ज्यालादारी गर्न जानुपर्ने भएकोले उनको पर्याप्त हेरविचारसमेत हुन सकेन । कलाकार घिमिरेको दर्दनाक अवस्थाको विषयमा मैले फेसबुकमा पोस्ट गरेको थिएँ, त्यसमा नर्भिककी प्रबन्ध निर्देशकले चासो राख्नुभयो । उहाँले आफ्नो समन्वयमा उपचार प्रबन्ध मिलाउने भनेर उद्धार गर्ने व्यवस्था मिलाउनुभएको नवजीनका अध्यक्ष दाहाले भन्नुभयो ।

दुर्घटनाअघि ६० केजीभन्दा बढी तौल रहेको कलाकार घिमिरे आहार, हेरविचार र उचित उपचारको अभावमा सुकेर २० केजीमा सीमित भएकी छिन् । कोरोनाकालमा निशा बहिनीलाई केही सहयोग गर्न म उहाँको ललितपुरस्थित बतासेमा रहेको घरमा पुगेको थिएँ, अवस्था दर्दनाक देखेपछि मैले सहयोगको अपीलसहित पोस्ट गरेँ । मेघा चौधरी ज्यूले म उपचार गर्छु भनेर उद्धार गर्नुभयो म धेरै खुसी छु,” उनले भनेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (1)
Add Comment
  • कलाकार घिमिरेको उपचारार्थ बैंक खाता सञ्चालन – Digital Khabar

    […] उहाँलाई अहिले देश तथा विदेशसमेतबाट सहयोग जुटिरहेको छ । उपचारमा थप सहयोगका लागि नवजीवनका अध्यक्ष दाहाल, चलचित्र कलाकार सङ्घका उपाध्यक्ष मोहन निरौला र निशाका बुवा प्रेमप्रसादका नाममा कृषि विकास बैंकमा खाता खोलिएको छ । ‘निशा घिमिरे संरक्षण कोष’को खाता नं ०२१०४०१८८३००९… […]