ओसाकाको बहिर्गमन

१९ जेठ, पेरिस । विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी चार पटकको ग्रान्डस्लाम विजेता जापानी टेनिस स्टार नाओमी ओसाका र ग्रान्डस्लाम आयोजकबीचको एक साता लामो विवादले नयाँ मोड लिएको छ।

ओसाकाले मानसिक स्वास्थ्यको कारण देखाउँदै फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छन्। ‘प्रतियोगिताको सफलता र अन्य खेलाडीको हितका लागि पनि फ्रेन्च ओपनबाट नाम फिर्ता लिने निर्णय गरेको छु’, ओसाकाले सामाजिक सञ्जाल इन्टाग्राममा लेखेकी छन्, ‘मेरो यो निर्णयपछि पेरिसमा सञ्चालन भइरहेको ग्रान्डस्लामप्रति सबैको ध्यान केन्द्रित हुनेछ।’

सन् २०१८ मा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई पराजित गरेदेखि नै ओसाका मानसिक रोगको सिकार भएकी थिइन्। अमेरिकामा सञ्चालन भएको यूएस (अमेरिकी) ओपनमा सेरेनालाई पराजित गरेपछि आफू मानसिक रुपमा विचलित हुँदै आएको ओसाकाले बताएकी छन्। ‘म विचलित हुन चाहन्थें। तर, समय मेरो अनुकुल भएन’, उनले भनेकी छन्’, ‘सन् २०१८ को यूएस ओपनपछि नै मैले लामो समयसम्म डिप्रेसनको सामना गर्नुप¥यो र डिप्रेसनबाट निस्कन निकै मुस्किल भयो।’

२३ वर्षीया ओसाकाले गत साता आफ्नो मानसिक स्वास्थ्यको कारण देखाउँदै पोस्ट् म्याच कन्फरेन्समा सहभागी नहुने बताएकी थिइन्। यसबारेमा पुनर्विचार गर्न ग्रान्डस्लाम आयोजकहरूले उनलाई आग्रह गरेका थिए। तर, आइतबार रोमानियाकी प्याट्रिसिया मारिया टिगलाइ पराजित गरेपछि ओसाकाले सञ्चार माध्यमसँग कुरा गर्न अस्वीकार गरिन्। पोस्ट् म्याच कन्फरेन्समा सहभागी नभएको भन्दै उनलाई आइतबार नै १५ हजार अमेरिकी डलर जरिवाना पनि गराइयो। चार वटा ग्रान्डस्लामका आयोजकले संयुक्त रुपमा वक्तव्य निकाल्दै ओसाकामाथि थप जरिवाना गरिनु पर्ने र भविष्यमा हुने प्रतियोगितामा सहभागी हुनबाट रोक्नुपर्नेसम्मका चेतावनी दिए। ‘ग्रान्डस्लामका नियमहरूमध्ये खेलाडीले मिडियासँग साक्षात्कार गर्नु पनि एक हो। यो खेलाडीको महत्वपूर्ण जिम्मेवारी पनि हो’, आयोजकहरूले विज्ञप्तिमा भनेका छन्, ‘खेलको नतिजा जेसुकै भए पनि एक जिम्मेवार खेलाडीले आफूसँगै खेल र प्रशंसकप्रति पनि जिम्मेवार हुनु पर्दछ।’

ओसाकाले आइतबार नै ट्वीट गर्दै मानिसहरूलाई परिवर्तनले असहज भएको प्रतिक्रिया दिएकी थिइन्। ‘असमझदारीले मानिसमा द्वेष पैदा गर्छ। किनभने कुनै पनि परिवर्तन मानिसका लागि असहज हुन्छ’, ओसाकाले ट्विटमा भनेकी छन्। ओसाकाले रोमानियाकी प्याट्रिसिया मारिया टिगलाई पराजित गर्दै फ्रेन्च ओपनमा सुखद् सुरुवात गरेकी थिइन्। दोस्रो चरणमा उनको भिडन्त रोमानियाकै अना बोग्दानसँग हुने तय भएको थियो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment