दुई घण्टाको बैठकपछि जसपालाई आठ मन्त्रालय तथा दुई राज्यमन्त्री दिने सहमति भएकाे दाबी

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुसँग बालुवाटारमा आज सोमबार भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुको बैठक सकिएको छ । करिब दुई घण्टा चलेको बैठक सकारात्मक भएकाले जसपा सरकारमा सहभागी हुने सहमति जनाएको छ ।

जसपाका नेता लक्षणलाल कर्णकाअनुसार प्रधानमन्त्री ओलीले सरकारमा आउने प्रस्ताव गर्नुभएको र जसपालाई दिने मन्त्रालय संख्या टुङ्गो लागेपछि सरकारमा जाने तयारी भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । जसपालाई आठ मन्त्रालय तथा दुई राज्यमन्त्री दिने सहमति बनेको नेता कर्णले जानकारी दिनुभयो । तर मन्त्रालयको नाम भने उहाँले लिन मान्नु भएन । बालुवाटारमा बैठकमा सहभागी हुनुभएका एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार बैठकमा जसपाको माग मुद्दा सम्बोधन गराउने विषयमा समीक्षात्मक छलफल भएको छ ।

मन्त्रालयको भागवण्डाबारेमा प्रधानमन्त्री र जसपाका अध्यक्ष महन्थ ठाकुरबीच सहमति हुनसक्ने तर बैठकमा त्यसबारे जानकारी नगराइएको उहाँले बताउनुभयो । “प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन आव्हान गर्नुभयो, सबै दललाई सरकारमा सहभागी हुन आव्हान प्रधानमन्त्रीले गर्दैआउनुभएको छ, मन्त्रालय कुन कुन लिने दिने टुङ्गो प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरले लगाउनुहोला” उहाँले भन्नुभयो ।

यसअघि माओवादीबाट एमालेमा प्रवेश गर्नुभएका नेताहरुले सम्हाल्नुभएका मन्त्रालय जसपालाई जाने बताइएको छ । तर गृहमन्त्रालय प्रधानमन्त्री ओलीले आफूसँग राख्न चाहेको बुझिएको छ ।

गृहमन्त्रालयको जिम्मेवारी यसअघि रामबहादुर थापा बादलले सम्हाल्नुभएको थियो । सहमतिअनुसार जसपा सरकारमा तत्काल सहभागी हुने भएपनि पार्टी भित्रको आन्तरिक विवादका कारण केही ढिलो हुने नेता कर्णले जानकारी दिनुभयो । भोलि नै त हामी सरकारमा सहभागी हुन सक्दैनौं, मन्त्रालयको संख्या टुङ्गो लागेपनि पार्टीभित्र कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने आन्तरिक गृहकार्य गर्न बाँकी छ उहाँले भन्नुभयो, “जसपाको तर्फबाट सबै मन्त्री एकैदिन सहभागी हुने वातावरण बनाउँछौं, कोही अघि र कोही पछि जाने हाम्रो सोच छैन ।”

जसपाबाट संसदीयदलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी जनाउने तयारी सो दलले गरेको छ । अहिलेसम्म मन्त्री हुने सूचीमा अनिलकुमार झा, शरतसिंह भण्डारी, उमाशंकर अरगरिया, एकवाल मियाँ, विमल श्रीवास्तव, चन्दा चौधरी, रेणुका गुरुङ लगायतको नाम चर्चामा छ । यद्यपि उपेन्द्र यादव पक्ष त्याग गरेर ठाकुर पक्षमा लागेका सांसदको माग मन्त्री हुनपाउने रहेको बताइएको छ ।

ठाकुर–महतो पक्षमा अहिले २० सांसद रहेको सो दलले जनाएको छ । जसपाको कुल ३२ सांसद छन् । सरकारमा जाने सहमति भइसके पनि पार्टीको आन्तरिक तयारीले एक दुई दिन समय लाग्ने नेता कर्णले बताउनुभयो । बैठकमा बाँकी अन्य विषयमा समिक्षात्मक छलफल भएको उहाँले बताउनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment