एमसीसीको पहिलो ठेक्का लाग्यो, ३९ महिनाभित्र न्यू–बुटवल सबस्टेसन निर्माण हुने

२७ वैशाख, काठमाडौं । एमसीए–नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदानमा बन्ने न्यू बुटवल सबस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरेको छ । यो एमसीसी परियोजनाअन्तर्गत निर्माणसम्बन्धी पहिलो ठेक्का हो ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा निर्माण हुने ४०० केभी न्यू बुटवल सबस्टेसन निर्माणको लागि लिङ्कसन इण्डिया प्रालिसँग एमसीए नेपालले बिहीबार ठेक्का सम्झौता गरेको हो । सम्झौताअनुसार सबस्टेसनको निर्माण ३९ महिनाभित्र सम्पन्न गर्नुपर्ने छ ।

नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्प्सन, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थितिमा नवलपरासीमा आयोजित समारोहमा एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र लिङ्कसन इण्डियाका प्रतिनिधिले हस्ताक्षर गरे ।

कार्यक्रममा राजदूत थम्प्सनले नेपालको ऊर्जासम्बन्धी आवश्यकता सम्बोधनका लागि कम्प्याक्ट उपयोगी रहेको र यसको निर्माण सुनिश्चित गर्न अमेरिकी सरकार नेपाल सरकारसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । ‘घरेलु उपभोग, विस्तारित व्यापारिक, औद्योगिक संस्थाहरू तथा सीमापार विद्युतीय व्यापारका लागि भरपर्दाे एवं धान्न सकिने विद्युत् उपलब्ध गराइरहेको नेपालको विद्युत् प्रसारण क्षमतामा यस ४०० केभी नयाँ बुटवल सबस्टेशनले सुधार ल्याउनेछ,’ उनले भने ।

यो सबस्टेसन नेपाल विद्युत् प्राधिकरणको प्राथमिकतामा रहेको संरचना रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यो सबस्टेसनले सीमापार ऊर्जा व्यापारमा उल्लेख्य योगदान गर्ने तथा विद्यमान २२० केभी सबस्टेशनलाई सघाउने पनि उनले बताए ।

कार्यक्रममा एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका क्रममा भइरहेका समष्टिगत प्रगतिबारे जानकारी गराएका थिए । ‘एमसीए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणसम्बन्धी सम्पूर्ण कार्यलाई तीव्रतापूर्वक अगाडि बढाइरहेको छ ।’

एमसीए–नेपालले यो परियोजनाअन्तर्गत तीनवटा सबस्टेसन निर्माण गर्दै छ । बाँकी दुई सबस्टेसन नुवाकोटको रातमाटे र तनहुँको दमौलीमा निर्माण हुँदैछन् । यी दुई सबस्टेसन निर्माणका लागि पनि प्राविधिक रुपमा योग्य ठेकेदारले पेश गरेको वित्तीय प्रस्ताव खोलिसकिएको छ । बाँकी दुई वटा सबस्टेसनको निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षरका लागि अन्तिम तयारी रहेको विष्टले जानकारी दिए ।

एमसीए–नेपालको सञ्चालक समितिको गत फागुनमा बसेको बैठकले सीमापार ऊर्जा व्यापारलाई समयमै अगाडि बढाउन न्यू बुटवल–गोरखापुर विद्युत् प्रसारण लाइनको नेपाली क्षेत्रमा पर्ने १८ किमि अंशको निर्माणलाई तत्काल अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार सो खण्डको बोलपत्र आह्वान भइसकेको छ ।

एमसीए नेपालले यसअघि नै विद्युत् प्रसारण लाइनको टेन्डर खोलेको थियो । तर, कम्पनीहरुले गरेको प्रस्तावित मूल्य एमसीएको लागत अनुमानभन्दा ६६ प्रतिशत उच्च भएपछि सो टेन्डर प्रक्रियालाई गत २६ असोजमा सम्पूर्ण रुपमा रद्द गरिएको थियो ।

त्यसमध्ये बुटवल–गोरखपुर १८ किलोमिटर प्रसारण लाइनलाई प्राथमिकताका साथ निर्माण गर्ने निर्णय एमसीए– नेपालको बोर्डले गरेको छ । सोहीअनुसार एमसीएले २ चैतमा सो खण्ड निर्माणका लागि टेन्डर आह्वान गरेको थियो ।

बाँकी २ सय ९७ किलोमिटर प्रसारणलाइन परियोजनाका लागि यही वर्ष (सन् २०२४) भित्र नयाँ टेन्डर खुलाउने तयारी रहेको एमसीए– नेपालले जनाएको छ । ‘एमसीए नेपालले अर्थ मन्त्रालय र एमसीसीको सहयोगमा २ सय ९७ किलोमिटर खण्डको पुनः टेन्डरका लागि आवश्यक काम गरिरहेको छ,’ उसले केही समयअघि उपलब्ध गराएको लिखित उत्तरमा भनेको छ, ‘त्यो ठेक्का प्रक्रियाको पुनः डिजाइन गर्ने र पुनः शुरुआत एक प्राविधिक प्रक्रिया हो ।

यसअघिको टेन्डरका प्रमुख लागतका अंगहरुलाई सम्बोधन गर्न डिजाइन मापदण्डहरु र निर्माण प्रावधानहरुको समीक्षा गर्न एमसीए नेपालले एक सुपरभाइजरी इन्जिनियरिङ फर्मलाई नियुक्त गरेको छ ।’ परिमार्जित डिजाइनअनुसार नयाँ टेन्टर आह्वान गरिने पनि एमसीए नेपालले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment