शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ खरमयुरको गणना सुरु

०४ जेष्ठ, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न दुर्लभ खरमयुरको गणना सुरु गरिएको छ।

खरमयुरको अवस्था, सङ्ख्या, बासस्थानसँगै आहाराको पर्याप्तताबारे अध्ययन र अनुगमनको कार्य अगाडि बढाइएको हो। निकुञ्जका कर्मचारी, चरा विशेषज्ञसहितको पाँच जनाको टोली खरमयुरको अवस्था पत्ता लगाउनका लागि खटिएको छ।

“हेडकाउन्टका आधारमा गणनाको कार्य भइरहेको छ”, निकुञ्ज कार्यालयका सहायक सरक्षण अधिकृत रविन चौधरीले भने, “निकुञ्ज क्षेत्रभित्र विभिन्न प्वाइन्ट र पोष्टमा गणनाको कार्य भइरहेको छ।” तीन दिन अघिदेखि थालिएको गणना तथा अनुगमनको कार्य एक साताभित्रै सम्पन्न हुने उनले बताए।

खरमयुरको बास स्थानका रुपमा रहेको घाँसे मैदान र खरका फाँटमा बर्सेनि लाग्ने डढेलोले समस्या निम्त्याउँदै आएको छ। उक्त मयुरको अधिक सङ्ख्या रहेको निकुञ्जका रुपमा यसलाई लिइने गरिन्छ। पोथी र अर्धवयस्क खरमयुर खैरो र कैलो हुने गर्दछ। यसको लम्बाइ ६६ सेन्टिमिटरसम्म हुने गर्दछ।

प्रायः घाँसे मैदानमा पाइने लामा खुट्टा, मजबुद शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने यसका पोथी र बच्चा खैरा हुन्छन्। प्रजनन समयमा बयस्क भाले प्रायः कालो देखिन्छ। पखेटा भने सेता हुन्छन्। यसलाई अङ्ग्रजीमा बेङगाल फ्लोरिक्यान भनिन्छ।

रासस



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment