अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ जना पक्राउ

२८ बैशाख, काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने सिन्धुली कमलामाई नगरपालिका-४ घर भएका बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, ललितपुर महानगरपालिका-५ कुपण्डोल बस्ने बाजुरा खप्तड गाउँपालिका-६ घर भएका २१ वर्षीय थुमराज उपाध्याय, ललितपुर ग्वार्को बस्ने स्याङजा पंचमुल गाउँपालिका-६ घर भएका नानोटेक फर्मा थापाथलीका संचालक २७ वर्षीय शेषकान्त अधिकारी, काठमाडौं भिमसेनगोला बस्ने सुनसरी ईनरुवा नगरपालिका-६ घर भएका चिरायु केडी ग्रुप प्रालिमा काम गर्ने ३९ वर्षीय पुष्कर घिमिरे, काठमाडौं अनामनगर बस्ने मोरङ बिराटनगर महानगरपालिका-२ घर भएका आहा इन्डस्ट्रियल कम्पनी प्रालिमा कार्यरत ४४ वर्षीय बिशाल आचार्य, काठमाडौं बागबजार बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय सन्तोष भण्डारी र काठमाडौं ढुङगेअड्डा बस्ने भारत राजस्थान झुन्झुनु घर भएका ५५ वर्षीय जगदिश प्रसाद रानासरिया रहेका छन् ।

अक्सिमिटरको अत्यधिक माग भइरहेको अवस्थाको फाइदा उठाउँदै औषधिजन्य पसल एवं फर्माहरुले सर्वसाधरण नागरिकहरुलाई बजार मूल्य भन्दा बढी मूल्य लिई अक्सिमिटर खरिद ब्रिक्री गरी कालोबजारी गरेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उत्पादन मिति, म्याद समाप्त मिति, बिक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केही उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्य भएका अक्सिमिटर फेला पारी बरामद गरेको हो । उक्त अक्सिमिटर बरामद भएपश्चात तत्काल जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमखु जिल्ला अधिकारी, औषधि व्यवस्था बिभाग, बाणिज्य बिभाग र प्रहरी समेतको संयुक्त टोलीको सहभागितामा उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका-२८ बस्ने मोरङ बिराटनगर महानगरपालिका-२ तिनपैनी घर भएका आहा इन्डस्ट्रियल कम्पनी प्रालिमा काम गर्ने ४४ वर्षीय बिशाल आचार्यले डि एण्ड डि इन्टरप्राइजेज न्यूरोड मार्फत चिनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाई उक्त अक्सिमिटर ल्याएको तथा बजार मूल्य ७ सय पर्ने उक्त अक्सिमिटरहरु २ हजार २ सय २० रुपैयाँसम्म अधिक मुल्यमा उनीहरुले बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी

coronacrimeLockdown
Comments (0)
Add Comment