नेपाल टेलिकमकाे नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनमा

१० बैशाख, काठमाडौं ।  टेलिकमले शुक्रबारदेखि नयाँ संरचना तयार गरी ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले नयाँ सेवा केन्द्रको शुभारम्भ गरेका छन् ।

पहिलेदेखि नै सेवा सञ्चालन गरिए भए पनि अहिले नयाँ व्यवस्थापन गरी सञ्चालन गरिएको टेलिकम ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले जानकारी दिए । यसअघि १९७ मार्फत हुने सोधपुछ सेवा शुक्रबारदेखि १९८ डायल गरेर प्राप्त गर्न सकिनेछ ।

वायरलाइन ग्राहकका लागि १९८ र जीएसएम तथा सीडीएमए मोबाइलका ग्राहकले १४९८ नम्बर डायल गरी सेवासम्बन्धी गुनासा, जिज्ञासा र आवश्यक जानकारी लिन सकिने टेलिकमले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सेवा निःशुल्क रहेको जनाइएको छ ।

नयाँ सेवा केन्द्रबाट एसएमएस, ई-मेल तथा वेब च्याटमार्फत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराउने तयारी छ ।

हालसम्म टेलिफोनबाट मात्र सेवा दिइरहेकोमा नयाँ सेवा केन्द्रबाट एसएमएस, ई-मेल तथा वेब च्याटमार्फत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराउने तयारी भएको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव तथा गुनासाको जवाफ पनि उपलब्ध गराउने व्यवस्था गरिने टेलिकमले जानकारी दिएको छ । टेलिकमको यस्तो सोधपुछ तथा ग्राहकसम्बन्धी सेवा बाह्य संस्थामार्फत भएको छ । हाल नयाँ व्यवस्थापनसहित हाइवे लिंक प्रालिसँग सम्झौता गरी यस्तो सेवा उपलब्ध गराउन थालिएको टेलिकमको भनाइ छ ।

सेवा शुभारम्भ गर्दै राज्यमन्त्री विष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्ण रूपमा विश्वस्त भए पनि ग्राहकसँग निरन्तर नजिक भइरहन सोधपुछ तथा ग्राहक सेवा केन्द्र आवश्यक पर्ने उल्लेख गरे । यस्तो सेवा केन्द्रले ग्राहकको अपेक्षा पूरा गर्न थप सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनले समयसापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराउन सके ग्राहक सन्तुष्ट हुन सक्ने र राजस्व पनि वृद्धि गर्न सकिने उनले बताए ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले नेपाल टेलिकमका सामु विविध चुनौती भएकाले त्यसलाई अवसरमा बदल्न सेवा केन्द्रले सहयोग पुर्‍याउने जानकारी दिए । ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाइरहन सेवा केन्द्रको भूमिका महत्र्वपूर्ण हुने नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् ।



मल्टिमिडिया ग्यालरी

businessnepal telecomNtctechnology
Comments (0)
Add Comment