सेयर कारोबार अवधि ५ घण्टा बनाउने नीति असफल भएकै हो ?

३१ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को दैनिक सेयर कारोबार समय ५ घण्टा बनाउने प्रयास असफल सावित भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम १ वर्ष अघि (२०७६ चैत २ गतेदेखि) परीक्षणका रुपमा भन्दै नेप्सेले सेयर कारोबार समय बढाएर दैनिक ५ घण्टा पुर्याएको थियो । यद्दपि, परीक्षणकाल सुरु भएको ८ दिनपछि कोरोना महामारीका कारण सेयर बजार नै बन्द भयो ।

सरकारले कोरोनाको रोकथाम भन्दै गरेको लक डाउनका कारण नेप्से कारोबार २०७६ चैत १० गतेबाट करिब ३ महिना बन्द भयो । त्यसपछि असार १५ गतेदेखि नेप्सेले फेरि नियमित कारोबार सुरु गर्यो । तर बजार खुल्दा सेयर कारोबार समयलाई पुनः ४ घण्टा (११ बजेदेखि ३ बजेसम्म) मा सीमित गरियो । त्यसयता नेप्से कारोबार दैनिक ४ घण्टा नै सञ्चालन हुँदै आएको छ । तथापि, फेरि नेप्से करोबार दैनिक ५ घण्टा बनाउने कुनै तयारी नभएको नेप्से स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार लक डाउनका कारण बजार बन्द हुनुभन्दा अघि गरिएको परीक्षणमै ५ घण्टा कारोबार असफल देखिएको थियो । स्रोतले भन्यो, ‘गत वर्ष चैतमा नेप्से कारोबार दैनिक ५ घण्टा परीक्षणका रुपमा सुरु गरे पनि अहिलेसम्म यसलाई पुनः ५ घन्टा बनाउने कुनै तयारी छैन । ५ घण्टे कारोबार नीति कार्यान्वयन लगभग असफल जस्तै भएको छ ।’

त्यतिबेला नै कारोबार लगायत अन्य कारणले असहज जस्तो भएको थियो, नेप्सेका एक अधिकारी भन्छन् । नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले कारोबार समय थपेको थियो । नेप्से स्रोतका अनुसार बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाको ठाडो आदेशमा कारोबार समय थप भएको थियो ।

स्रोतले भन्यो, ‘धितोपत्र बोर्डका अध्यक्षले आफू आउने बित्तिकै कारोबार समय थप गरेर ५ घण्टा पुर्याउनु भएको हो । त्यो अहिले नै सफल हुने देखिएको छैन ।’ यता, धितोपत्र बोर्डमा पनि अहिले नै सेयर कारोबार समय बढाउने कुनै तयारी तथा छलफल नभएको बोर्ड स्रोतले बताएको छ । सेयर बजारका सरोकारवालाहरु पनि अहिले दैनिक ४ घन्टाकै अवधिमा रमाइरहेका छन् । यसमा कसैको पनि विरोध देखिएको छैन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment