ज्योति लाइफ आईपीओको प्रिअलोर्टमेन्ट आज, बाँडफाँड शुक्रबार

१० चैत, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज प्रिअलोर्टमेन्ट हुने र आगामी शुक्रबार बाँडफाँड हुने जनाएको छ ।

कम्पनीले गएको फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात तीन लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका सर्वसाधारणको लागि बिक्री खुला गरेको थियोे ।

कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४९६ आवेदकबाट तीन करोड ८४ लाख ८६ हजार २२० कित्ता सेयर माग गर्दै आवेदन परेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओ आज प्रिअलोर्टमेन्ट गरेर धितोपत्र बोर्डमा पठाउने र शुक्रबार बाँडफाँड हुने एनएमबी क्यापिटका प्रबन्धक स्मृति महर्जनले बताइन् ।

कुल आवेदकको संख्या १८ लाख ४२ हजार भए पनि योग्य आवेदकको संख्यामा केही घट्न सक्नेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले बाँडफाँड गर्नपर्ने हुन्छ । सर्वसाधारणको लागि निष्कासन गरेको ५९ लाख ४० हजार कित्ता सेयर १० कित्ताको दरले बाँडफाँड गर्दा ५ लाख ९४ हजार आवेदकले पाउनेछन् । बाँकी रहेका करिब साढे १२ लाख आवेदकको भने हात खाली हुनेछ ।

हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर हिस्सा ७०ः३० प्रतिशत हुनेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment