आइपिओ दर्जनभन्दा बढी कम्पनी आउँदै

२९ फागुन, काठमाडौं । प्राथमिक सेयर (आइपिओ) मा लगानीकर्ताको आकर्षण दिन प्रतिदिन बढ्दो छ । हरेकपटक राम्रा कम्पनीको आइपिओ निष्कासन गरिँदा लाखौँको संख्यामा आवेदक थपिने गरेका छन् । पछिल्लोपटक खुलेको ज्योति लाइफ इन्स्योरेन्स (जेएलआइसी) को आइपिओमा कीर्तिमानी संख्याका सर्वसाधारण लगानीकर्ताबाट आवेदन परेको छ ।

ज्योतिले २१–२६ फागुनमा सर्वसाधारणका लागि निष्कासन गरेको ५९ लाख ४० हजार कित्ता आइपिओका लागि करिब साढ १८ लाख लगानीकर्ताले आवेदन दिएका छन्, जुन हालसम्मकै ठूलो माग हो । यद्यपि, यो आइपिओमा लगानी गर्न योग्य आर्थात् डिम्याट खाता खोलेका लगानीकर्ताको करिब ५८ प्रतिशत मात्र हो ।

यसको अर्थ अझै सेयर कारोबारकै लागि भनेर डिम्याट खाता खोलेका ४० प्रतिशतभन्दा बढीले आइपिओमा लगानी गरेका छैनन् । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को तथ्यांकअनुसार हालसम्म ३१ लाख ३१ लाख ५८ हजार ७ सय ९६ जनाले डिम्याट खाता खोलेका छन् । यसअघि नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा) ले निष्कासन गरेको सबैभन्दा ठूलो परिमाणको आइपिओमा १४ लाख ७५ हजार लगानीकर्ताको आवेदन स्वीकृत भएको थियो ।

आइपिओमा नगण्य जोखिम तथा छोटो समयमै पनि मनग्य नाफा देखेरै लगानीकर्ता आकर्षित भएका हुन् । पहिले पहिले विशेषगरी लघुवित्त र बिमा कम्पनीमा बढी आकर्षण हुने गरेकोमा अहिले नेप्से परिसूचक बढेर करिब एक वर्षको अन्तरालमै दोब्बर पुगेसँगै सबै कम्पनीका आइपिओमा पूर्तिभन्दा कैयौँ गुना बढी आवेदन पर्ने गरेको छ । त्यतिवेला हेपिने गरेका हाइड्रोपावर कम्पनीहरूको समेत आज १० कित्ता सेयर पाउँदा भाग्यमानी ठहरिने दिन आएको छ ।

केही समयको अन्तरालमै प्राथमिक तथा द्वितीय बजारमा समेत नयाँ लगानीकर्ताको अभूतपूर्व आकर्षण हुनुमा विशेषगरी नेपाल पुनर्बिमा कम्पनी (एनआरआइसी) कोसेढुंगा सावित भएको विश्लेषकहरू बताउँछन् । करिब एक वर्षअघि एनआरआइसीको आइपिओमा करिब २ लाखले मात्र आवेदन दिएका थिए । त्यतिवेला डिम्याट खाता हुनेको संख्या नै कम भए पनि कम आवेदन पर्नुमा कोरोना महामारीको सुरुवाती त्रासले कम आवेदन पर्नुमा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

एनआरआइसीको आइपिओ माग गर्ने सबैले ४० देखि ५० कित्ता पाउनु र सो सेयरको द्वितीय बजारमा केही महिनामै प्रतिकित्ता मूल्य करिब १ हजार ८ सयसम्म पुग्नुले सर्वसाधारणमा सेयरप्रति जागरण ल्याएको विश्लेषण गरिँदै आएको छ । त्यसपछि तत्कालीन अवस्थामा सबैलाई पर्ने निश्चित भएको निफ्राको ठूलो संख्याको आइपिओले गाउँ–गाउँसम्म सेयरप्रतिको जागरण पुर्‍याउन थप भूमिका खेल्यो ।

अहिले जुनसुकै कम्पनीका केही लाख कित्ता सेयर निष्कासन गरिँदा पनि १० लाखभन्दा बढीको आवेदन पर्ने गरेको छ । यसले सेयरबजारमा, विशेषगरी प्राथमिक बजारमा नयाँ लगानीकर्ताको आकर्षण र प्रवेश तीव्र गति बढ्दै गएको देखाउँछ । यतिवेला नयाँ आउँदै गरेका आइपिओबारे लाखौँ लगानीकर्तालाई चासो छ । त्यस्तै, आइपिओ खुल्नेबित्तिकै सिडिएसको मेरोसेयर पोर्टलले काम नगर्ने समस्या झेलिरहेका लगानीकर्तालाई समस्या न्यूनीकरणका लागि भइरहेका सुधारका प्रयासबारे पनि जान्ने उत्सुकता उत्तिकै छ । यसर्थ, यहाँ मूलतः यी दुई विषयमा केन्द्रित भई जानकारीमूलक सामग्री प्रस्तुत गरिँदै छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment