लोपोन्मुख तामे सालक घोडाघोडीको गाउँमा भेटियो

२२ फागुन, लम्की (कैलाली) । कैलालीमा लोपोन्मुख प्रजातिको रुपमा रहेको सालक फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ५ डोडा गाउँमा शुक्रबार राती गाउँलेले सालक देखेका थिए । सामुदायिक वन नजिकै रहेको उक्त गाउँमा एक्कासी रातको समयमा कुकुर भुक्न थालेपछि गाउँले हरुले नयाँ जिव गाउँमा देखेपछि संरक्षणकर्मीलाई खबर गरेका थिए ।

शुक्रबार राति नै सब डिभिजन वन कार्यालय सुखडबाट खटिएको टोलीले उद्धार गरी कार्यालयमा राखेको सब डिभिजन बन कार्यालय सुखडका प्रमुख समीर थापाले बताउनुभयो । प्रायः दिनमा बाहिर ननिस्कने रातको समयमा निस्कने सालक रातको समयमा आहारा खोज्दै गाउँ पसेको हुनसक्ने बताइएको छ ।

१८ किलोग्रामको वयस्क उक्त सालक भारतीय तामेसाल रहेको जनाइएको छ ।
धमिरा र कीरा कमिला खाने सालकको छाला खपटा महँगो मूल्यमा किनबेच हुने भएकाले पनि सालकको चोरीसिकारी हुनसक्ने भएकाले सरोकारवालाले यसको उद्धार र संरक्षणमा चासो देखाउने गरिएको जनाइएको छ ।

सालक नेपालमा लोपोन्मुख वन्यजन्तु अन्तर्गत पर्ने र यसको चोरी सिकारी हुनसक्ने भएकाले पनि जानकारी प्राप्त हुनासाथ राति नै उद्धार गरिएको प्रमुख थापाले बताउनुभयो ।

उद्धार कार्यमा सबैभन्दा अगाडि पुग्नुभएका संरक्षणकर्मी हिरुलाल डंगौराले सालक भेटिएको खबर थाहा पाउने बित्तिकै राति १२ बजे नै बस्तीमा आफू पुगेको बताउनुभयो । शुरुमा गाउँका मानिसले कुखुरा बाख्रा खान्छ, मार्नुपर्छ भन्दै दिन नमानेपछि संरक्षणकर्मीले सालकले मानवलाई हानी नगर्ने महत्वपूर्ण जीव रहेको सम्झाएपछि राति नै उद्धार गरिएको थियो ।

संरक्षणकर्मी डंगौराले गाउँबाट उद्धार गरिएको सालक घोडाघोडी सिमसार क्षेत्रमा शनिबार साँझसम्म छोडिने बताउनुभयो । सालकको क्षेत्रमा काम गर्नेहरुले सालक कैलालीमा पाइँदैन भन्दैगर्दा विभिन्न समयमा सालक भेटिनुले सामुदायिक वन संरक्षणको उपलब्धि भएको घोडाघोडी पर्यटन बोर्डका उपाध्यक्ष दयाराम चौधरीले बताउनुभयो ।

सालक नेपाल, भारत, चीनलगायत दक्षिण एसियाली राष्ट्र तथा अफ्रिकाका उष्ण भूभागमा पाइन्छ । विश्वभर पाइने आठ प्रजातिका सालक मध्ये नेपालमा चिनियाँ र भारतीय प्रजातिका सालक पाइने गरेका छन् । संरक्षणकर्मी डंगौराले नेपालमा सेतो रंगको तामे सालकको तुलनामा कालो रंगको चिनियाँ सालक लोपोन्मुख सङ्कटग्रस्त अवस्थामा रहेको जनाउनुभयो ।

यसअघि सालक कैलारी गाउँपालिका ५ बंगालीपुर र भजनी नगरपालिकाको पशुपति सामुदायिक वनमा फेला परेको थियो । योसँगै कैलालीमा तीनवटा सालक फेला परेको छ । फेला परेका सालकलाई बासस्थानमा असर नपर्ने वनक्षेत्रमा छोड्ने गरिएको छ ।

तस्बिर क्याप्सन शुक्रबार राती कैलालीको घोडाघोडी नगरपालिका ५ डोडा गाउँबाट उद्धार गरी सब डिभिजन वन कार्यालय सुखडमा राखिएको तामे सालक, उक्त सालकलाई शनिवार घोडाघोडी सिमसार क्षेत्रमा छोडिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment