तम्घास-सिमलटारी खण्डका पुल निर्माण बर्खाअघि नसकिने

१४ जेठ, गुल्मी । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मी जिल्लाको तम्घास–सिमलटारी खण्डमा ४ वटा पक्की पुल बर्खा अगावै नसकिने निश्चित भएको छ । राजमार्गको तम्घास सिमलटारी, पुर्कोटहुँदै प्युठानसम्म पुग्ने सडक खण्डका ४ ठाउँमा अहिले पुल निर्माण भइरहेको छ ।

५ वर्ष अगाडि नै सडक कालोपत्रे भएपनि राजमार्गको तम्घास सिमलटारी खण्डका हुलाके, धनार्जी, फूलबारी र घमिर खोला पुल नहुँदा वर्षातको समयमा यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता छ ।

४ वटा पुल मध्ये फूलबारी र घमिर खोलामा पुल निर्माणका लागि पन्त निर्माण सेवाले निर्माणको काम गरिरहेको छ । हुलाके र धनार्जी खोलामा पुल सुनिल समीर निर्माण सेवा प्रालि तम्घास गुल्मीले निर्माण कार्य गर्दै आएको छ ।

घमिर खोलको पुल निर्माणको लागि ३ करोड १३ लाख ८४ हजारको लागत रहेको छ । फूलबारी खोलाको पुल निर्माणको लागि ३ करोड ३२ लाख ६८ हजार रुपैयाँ लागत छ । यी दुई स्थानका पुल निर्माण कार्य २०८० भदौ महिनाभित्र बनाइसक्नु पर्ने थियो । थपिएको म्याद थप २०८० चैत ८ गतेसम्म थियो ।

जेठ महिनाको दोस्रो सातासम्म यी पुलको प्रगति ७० प्रतिशतमात्रै भएको छ । घमिर खोलाको पुल १५ मिटर लम्बाई र ११ मिटर चौडाइको हुनेछ । फूलबारी खोलाको पुल २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । यी दुईवटा पुलको काम ढलान सकेर एप्रोज वाल लगायतका कार्य बाँकी छ ।

धनार्जी रोधी खोलामा पुल निर्माणको लागि ७ करोड ४८ हजार र हुलाके खोलामा पुल निर्माणको लागि ५ करोड ७९ लाख ५३ हजार रुपैयाँ लागत छ । धनार्जीमा बन्ने पुल ३५ मिटर लम्बाई र ११ मिटर चौडाइको हुनेछ । यो पुल २०८० माघभित्र सकिसक्नुपर्ने थियो ।

अहिले २०८१ साल कात्तिकसम्म म्याद थपिएको छ । हालसम्म यो पुलको ७० प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।

यी दुइवटा पुल निर्माणको ढलानको काम सकेर एप्रोल वाल र पहुँच सडक विस्तार गर्न बाँकी छ । २ वटा पुलमा पहुँच सडक विस्तार गर्न जग्गा विवाद भएकाले काम गर्न बाँकी रहेको मदन भण्डारी आयोजना कार्यालयका इन्जिनियर दिपक विकले बताए ।

गुल्मी जिल्लाको पश्चिम क्षेत्रको अति व्यस्त मानिने यो सडकखण्डमा पुल नहुँदा वर्षातको समयमा सबैभन्दा बढी मार विरामी र शारीरिक अशक्तले खेप्दै आएका छन् ।

कोरोना महामारीको समयमा वर्षातको बेला ४ दिनसम्म खोला तर्न नसकेर एक जना बिरामीको बाटोमै मृत्यु भएको थियो । पुल नहँदा बर्सेनि सवारी साधन चालकहरुले जोखिम मोल्दै आएका छन् ।

यहाँका नागरिक यसवर्षको वर्षातसम्म पुल सञ्चालनमा आउने आशामा थिए । तर जेठको दोस्रो साता बितिसक्दा पुलका ढलान बल्ल सकिएको छ । फूलबारी र घमिर खोलामा निर्माणाधीन पुलको ढलान केही समयअघि नै सकिएको थियो भने हुलाके र धनार्जी खोलाको पुलको जेठको दोस्रो सातामात्रै सकिएको हो ।

निर्माण व्यवसायीले पटकपटक म्याद थप गरेर पुल निर्माणको काम गरिरहेका छन् । पुल निर्माणको पछिल्लो अवस्थाबारे भ्रष्टाचारविरुद्धको नागरिक निगरानी गुल्मीसहित सरकारी निकायमा प्रतिनिधिले अनुगमन गरेका थिए ।

अनुगमनपछि उनीहरुले काम गुणस्तरीय भएपनि समयमै नसकिँदा नागरिकमा गुनासा बढेको भ्रष्टाचारविरुद्धको नागरिक निगरानी गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले बताए ।

थपिएको समयमा पनि काम नसकिने देखिएपछि आयोजना कार्यालय र निर्माण व्यवसायीलाई दबाब पर्न थालेको छ । यद्यपि, असारभित्रै पुल निर्माणको काम सकेर गाडी चलाउने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विकको जिकिर छ ।

मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडक खण्डमा सिमलटारीसम्म कालोपत्रे काम ५ वर्ष पहिले एक अर्ब रुपैयाँ लागतमा बनेको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment