‘असंवैधानिक’ अमेरिकी प्रतिबन्धविरुद्ध लड्ने टिकटकको घोषणा

१३ वैशाख, काठमाडौं । सोसल मिडिया प्लाटफर्म टिकटकले कम्पनी बिक्री गर्नुपर्नेे अन्यथा प्रतिबन्धको सामना गर्नुपर्ने प्रावधान सहितको ‘असंवैधानिक’ अमेरिकी कानुनलाई अदालतमा चुनौती दिने बताएको छ ।

अमेरिकी संसदका दुबै सदनले पारित गरेको उक्त विधेयकलाई राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेसँगै लागू भएको छ । नयाँ कानूनअनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सलाई अमेरिकामा टिकटक प्लाटफर्म बिक्री गर्नका लागि ९ महिनाको समय दिइएको छ, अन्यथा टिकटक एप अमेरिकामा प्रतिबन्धित हुनेछ ।

टिकटकले प्रयोगकर्ताका विवरणहरु चीन सरकारलाई दिनसक्ने भन्दै अमेरिकाले उक्त कानून लागू गरेको हो । तथापि टिकटकले भने त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ । ‘हामी तथ्यमा विश्वास गर्दछौँ र कानुनहरु प्रष्ट रुपमा हाम्रो पक्षमा छन् । अन्ततः हाम्रै जित हुनेछ’, एक विज्ञप्तिमा टिकटकले भनेको छ, ‘तथ्य के हो भने हामीले अमेरिकी प्रयोगकर्ताका विवरण सुरक्षित राख्नका लागि अर्बौँ डलर लगानी गरेका छौँ र हाम्रो प्लाटफर्म बाह्य प्रभाव तथा हस्तक्षेपबाट मुक्त छ ।’

यस्तो प्रतिबन्धले ७० लाख व्यवसायलाई ध्वस्त पार्नुका साथै १७ करोड अमेरिकीको आवाज बन्द गरिदिनेछ ।

टिकटक विरुद्धको उक्त विधेयकमाथि माथिल्लो सदन सिनेटमा मतदान हुने क्रममा ७९ जना सांसदले पक्षमा मतदान गरे भने केवल १८ जनामात्रै विपक्षमा रहे ।

इन्टेलिजेन्स कमिटीका रिपब्लिकन सिनेटर मार्को रुबियो भन्छन्, ‘हामीले वर्षौँदेखि अमेरिकाको सबैभन्दा लोकप्रिय मध्येको एक एपमाथि चिनियाँ कम्युनिस्ट पार्टीलाई नियन्त्रण गर्न छुट दियौं । त्यो खतरनाक अदूरदृष्टि थियो ।’

टिकटकले भने बाइटडान्स चीन वा कुनै अरु देशको एजेन्ट नभएको बताएको छ । साथै बाइटडान्सले आफु चिनिया कम्पनी नरहेको दाबी गर्दै यसमा विश्वव्यापी लगानी कम्पनीहरुको ६० प्रतिशत शेयर रहेको जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी शोउ जी चेवले टिकटक प्लाटफर्मको सुरक्षाका लागि कानूनी अधिकारको अभ्यास लगायतका सबैखाले प्रयास गर्ने बताएका छन् ।

विज्ञहरुका अनुसार अमेरिकाले लागू गरेको नयाँ कानुन ठूलो विषय भएपनि यसको कार्यान्वयनमा भने धेरैखाले अवरोध रहेका छन् ।

उसो त अमेरिकामा कानून बमोजिम टिकटक प्रतिबन्धित हुन वर्षौं लाग्नसक्छ र यसका लागि विषय सर्वोच्च अदालतसम्म पनि पुग्नसक्छ, जसले यस प्रक्रियालाई ढिला बनाउनेछ । गत नोभेम्बरमा मोन्टानास्थित एक अमेरिकी संघीय न्यायाधीशले उक्त राज्यमा टिकटक प्रतिबन्ध गर्ने कार्यमाथि रोक लगाएको थिए ।

साथै अमेरिकी युवाबीच टिकटकको लोकप्रियताले पनि समस्या खडा गर्न सक्दछ । अमेरिकामा दुई तिहाई युवाहरुको टिकटक अकाउन्ट छ । पहिलो चुनौति भनेको वाक स्वतन्त्रता तथा अभिव्यक्तिको स्वतन्त्रता प्राप्त गर्नु हो ।

साथै बाल अधिकार सम्बन्धी राष्ट्रसघीय घोषणापत्र अनुसार पनि बालबालिकामा सूचना थाहा पाउने र खेल्ने अधिकार छ । यी सबै आधारमा अमेरिकी काननूलाई चुनौति दिइने सम्भावना छ ।

वाशिंटनस्थित काटो इन्स्टिच्युटका जेनिफर हडलस्टोनका अनुसार उल्लेख्य नियामक जाँचका कारण टिकटकको सम्भावित बिक्री ढिला हुनसक्छ ।

अर्को महत्वपूर्ण प्रश्न भनेको के अमेरिकामा टिकटकको बिक्री वास्तवमै सम्भव छ त ? भएमा यसको खरीदकर्ता को होला ?

वास्तवमा अमेरिकामा टिकटक कसले खरीद गर्ला र सञ्चालन गर्ला भन्ने कुरा ठूलो प्रश्नको रुपमा रहेको छ । यसको मूल्य नै दशौँ अर्ब डलर हुनसक्छ । त्यसैले सम्भावित खरीदकर्ताको संख्या पनि निकै सानो हुनेछ ।

-बीबीसी



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment