आफ्ना कुरा धेरैलाई भन्न ‘ब्युटी पेजेन्ट’मा भाग लिएँ – मेडिकल विद्यार्थी श्रद्धा

‘हरेक क्षेत्रमा सफलता हात पार्न आफू सक्रिय हुन आवश्यक छ’

२८ चैत, काठमाडौं । भुम्लु गाउँपालिका, काभ्रेपलाञ्चोकको रिठेमा जन्मिएकी श्रद्धा अधिकारी हाल काठमाडौँ मेडिकल कलेजमा एमबीबीएस तेस्रो वर्षमा अध्यनरत छिन् । उनी नौ वर्षको हुँदा उनको परिवार बनेपा बसाइँ सरेका थिए ।

यसकारण उनले आफ्नो प्लस टु सम्मको अध्ययन बनेपामै सकिन् । त्यसपछि उनी स्नातक अध्ययनका लागि राजधानी छिरिन् ।

श्रद्धाको सानै उमेरदेखि नै सामाजिक कार्यमा रुचि थियो । उनी विगत दुई वर्षदेखि काठमाडौँ मेडिकल कलेजको एक क्लबको सामुदायिक सेवा संयोजकको रुपमा समेत काम गर्दै आइरहेकी छिन् । यही संस्थामा आवद्ध भएर लैङ्गिक हिंसा र मानसिक स्वास्थ्यका बारेमा जागुरुक गराउने क्रममा उनले आफ्नै हब नेपाल नामको संस्था पनि खोलेकी छिन् ।

संस्थाले विभिन्न विद्यालय तथा समुदायमा गएर मानसिक स्वास्थ्यका साथै हिंसाका बारेमा जनचेतना जगाउँदै आएको छ । अर्को रोचक कुरा के छ भने मेडिकल विद्यार्थी रहेकी उनी ब्युटी पेजेन्टमा समेत सहभागी भइरहेकी छिन् ।

‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा सहभागी भएर उनी अन्तिम ३० भित्र परेकी छिन् ।

गत बुधबार कमलादीस्थित रोयल सिङ्गी होटलमा आयोजित अन्तिम ३० जना प्रतिस्पर्धी सार्वजनिक गरिएको छ । यिनै मध्येकी श्रद्धासँग ब्युटी पेजेन्टतर्फ अहिलेका युवापुस्ताको आकर्षण र यसको प्रभावबारे गरेको कुराकानीको सम्पादित अंश

मेडिकल विद्यार्थी तपाईँ कसरी यस सौन्दर्य क्षेत्रतर्फ मोडिनुभयो?

मोडिएको भन्दा पनि म पहिलेदेखि नै सामाजिक कार्यमा रुचि राख्दै आएकी थिएँ । साथै म स्वास्थ्य क्षेत्रमा पनि छु । यसकारण मैले मेरो जीवनमा गर्न चाहाने कुरा भनेको मानसिक स्वास्थ्य सम्बन्धी सचेतना फैलाउन हो ।

जस्तै मानिसमा बाहिरी घाउ चोट लाग्यो भने मान्छेले सहजै भन्छ तर मानसिक चोट लागेको व्यक्तिले न आफ्नो चोट राम्ररी देखाउन सक्छ न समाजले नै उसलाई साथ र सर्मथन जनाउँछ ।

यस कारण मानसिक स्वास्थ्य सम्बन्धी हाम्रो समाजमा रहेको गलत प्रवृत्ति हटाउन म यो क्षेत्रमा आएँ । यो क्षेत्रमा लाग्नुको मुख्य कारण धरै मानिसहरुसँग मेरो देखभेट हुन्छ । मैले मेरा कुरा धेरै जनालाई बाँड्न पाउँछु । मेरो मानसिक स्वास्थ्य सम्बन्धी उद्देश्य पूरा गर्न सक्छु भनेर म यस ब्युटी पेजेन्ट तर्फ मोडिएकी हुँ ।

यो क्षेत्रमा आउन घरपरिवारको कत्तिको समर्थन पाउनुभएको छ?

शुरुमा त बुवाआमाले एमबीबीएस पढ्नमै त्यति धेरै खर्च भइरहेको छ । फेरि उता सौन्दर्य क्षेत्रमा लागेर छोरीले पैसा डुबाउने भई, पढाइ बिग्रने भयो भनेर पिर मानिरहनुभएको थियो । तर, अहिले भने बुझ्नुभयो र मलाई सपोर्ट नै गरिरहनुभएको छ ।

यस्ता सौन्दर्य प्रतियोगिताहरुमा भाग लिने महिला प्रतियोगीहरु हिंसामा परेको कुरा बेला बखतमा बाहिरिन्छ । तपाईले पनि सुन्नुभएकै होला । अहिले आफै प्रतियोगी भएर सामेल भइरहँदा तपाईले त्यहाँ कस्तो वातावरण पाउनुभयो यस्ता महिला हिंसाको शिकार हुनुभयो कि भएन ?

यस्ता कुराहरु मैले पनि सुनेकै हुँ । तर, मेरो हकमा भने यस्तो वातावरण महसूस नै भएन । मलाई यो कुरा व्यक्ति विशेषमा भर पर्ने कुरा हो जस्तो पनि लाग्छ । हाम्रो समूहमा यस्तो छैन । निकै सौहार्दपूर्ण वातावरण छ ।

यो कुरामा उमेरले पनि असर पार्छ । त्यसमाथि म २३ वर्ष भईसकेकी युवती हुँ । म अरुको ललाइफकाइ र बहकाउ यकिन नगर्ने पाको उमेरमा पुगेर पनि होला । मसँग यस्तो अनुभव रहेन ।

तपाईँ मोडलिङको क्षेत्रमा भविष्य उज्ज्वल देख्नुहुन्छ ?

यो प्रश्न धेरै नै आइरहेको हुन्छ । यो पनि हरेक व्यक्तिमा भर पर्ने कुरा हो जस्तो लाग्छ मलाई । तपाई कत्तिको अपडेट हुनुभयो, कत्तिको सक्रिय भइरहनुभएको छ भन्ने कुरामा पनि धेरै भर पर्छ । मानौँ, तपाईले प्रतियोगिता जित्नुभयो र त्यही क्राउन लिएर निस्क्रिय बस्नुभयो भने त्यो क्राउन त्यति उपयोगी पनि हुँदैन ।

यो प्लेटफर्म मार्फत धेरैले चिनिसकेपछि अगाडि कत्तिको काम गर्नुभयो ? काम गर्नुभएको छ कि छैन भन्ने कुरा मुख्य हो । हरेक क्षेत्रमा सफलता हात पार्न आफू सक्रिय रहन आवश्यक छ । म यो क्षेत्रमा भविष्य छ नै भन्छु । यो राष्ट्रिय प्लेटफर्म हो । यही मार्फत अन्तर्राष्ट्रिय प्लेटफर्म पाउने हो ।

यसले व्यक्तित्व निर्माण देखिअभिव्यक्ति कलालाई पनि निखार्छ । यसकारण तपाई आफूलाई निखार्न चाहनुहुन्छ भने अवश्य यो क्षेत्रमा जानुहोला ।

तपाईँभन्दा पछिल्ला पुस्ता जो यही क्षेत्रमा आएर आफ्नो भविष्य बनाउँछु भनेर सोचिरहेका छन्उनीहरुलाई कस्तो सुझाव दिन चाहनुहुन्छ 

ब्युटी पेजेन्टमा प्रतियोगी बन्न चाहनेलाई म के भन्न चाहन्छु भने मेकअप गर्न मन परेर, राम्रो राम्रो डिजाइनर कपडा लगाउने शोक भएर अथवा मोडल बन्ने चाह राखेर मात्रै यस क्षेत्रमा नजानुहोस् ।

त्यसको लागि मोडलिङ क्षेत्र छ । बरु तपाईँको अन्य कुनै लक्ष्य छ । सपना छ भने उक्त सपना पूरा गर्ने सहयोगी पुल बन्न सक्छ ब्युटी पेजेन्ट ।

किनकि यस्ता प्रतियोगीताहरुमा धेरै मान्छेहरुसँग देखभेट हुन्छ । जनसम्पर्क बढ्छ । नयाँ–नयाँ कुरा सिक्न पाइन्छ । तपाईँले आफ्नो कुरा व्यक्त गर्न पाउनुहुन्छ । यसकारण यदि तपाईँ आफ्नो कुराहरु ठूलो जमातमा पुर्‍याउन चाहनुहुन्छ अथवा थरीथरीका विचार विमर्श गर्दै सुन्दै आफूलाई अगाडि बढाउन चाहनुहुन्छ भने यस्तो प्लेटफर्म रोज्न नै म सल्लाह दिन्छु ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment