साइन गरेको फिल्म नबन्दा कविता, कुसुम र मिस पबीलाई सकस

२६ चैत, काठमाडाैं । म्युजिक भिडियोमा राम्रो चर्चा पाएकी मोडल कविता नेपालीले नयाँ फिल्म ‘एक्लो’ साइन गरिन् । यो फिल्मको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । किनकी, यो फिल्मका मुख्य नायक प्रदीप खड्काको लाइनअपमा आधा दर्जन फिल्म छन् । यसैले, प्रदीपको समय अनुसार यो फिल्मको छायांकन हुनेछ । 

उसो त कविताले साइन गरेको यो पहिलो फिल्म होइन । यसअघि उनले नायक आर्यन सिग्देलसँग फिल्म ‘सायरा’ साइन गरेकी थिइन् । यो फिल्मको घोषणा पाँच तारेमा गरियो । तर, यसपछि फिल्मको काम अगाडि बढ्न सकेन । यदि, यो फिल्मको छायांकन निर्धारित समयमा नै भएको भए कविताको डेब्यू फिल्म क्षेत्रमा भइसक्ने थियो । तर, फिल्म नबन्दा उनको करिअर रंगीन दुनियाँमा अगाडि बढ्न सकेन । अब, हेरौं ‘एक्लो’ फिल्म निर्माण कहिले हुनेछ । 

म्युजिक भिडियोमा काम गरेर चलेका केही मोडलहरु फिल्म त साइन गरे । तर, ती फिल्महरू नबन्दा उनीहरुलाई समस्या भइरहेको छ । 

मोडल मिस पबीले पनि नयाँ फिल्म ‘राजमहल’ साइन गरिन् । फिल्मको पाँच तारेमै घोषणा भयो । यो फिल्ममा मिस पबीको साथमा रमेश उप्रेती, सलोन बस्नेत, आँचल शर्मा जस्ता कलाकारले काम गर्ने पक्का भएको थियो । तर, फिल्मको घोषणा भएको केही महिना बितिसक्दा पनि निर्माणपक्षले काम अगाडि बढाउन सकेन । जसकाकारण, मिस पबीको फिल्ममा काम गर्ने सपना पनि पुरा हुन सकेको छैन । 

अर्की मोडल कुसुम शर्माको पनि अवस्था उस्तै छ । फिल्म ‘सञ्जीवनी’ साइन गरेर उनी नायिका बन्न तयार थिइन् । उनी उत्साहित पनि खुबै थिइन् ।

तर, फिल्म घोषणा भएको आधा बर्ष बढी भइसकेको छ । यसको काम पनि अगाडि बढ्न सकेको छैन । यो फिल्ममा कुसुमले नायक आर्यन सिग्देलसँग काम गर्ने पक्का भइसकेको थियो । 

यसरी हेर्दा, कविता, मिस पबी र कुसुमको नायिका बन्ने सपना अझै पुरा हुन सकेको छैन । उनीहरुले फिल्म त साइन गरेका छन्, तर ती फिल्महरूको काम अगाडि नबढ्दा उनीहरुको सपना पनि अधुरै छ । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment