‘द रेड सुटकेस’ क्यूएफएक्स चेनमा नलगाउने घोषणा, हलले विभेद गरेको आरोप

२५ चैत, काठमाडाैं । फिल्म ‘द रेड सुटकेस’लाई क्यूएफएक्स चेनका कुनै पनि हलमा प्रदर्शन नगर्ने घोषणा यसको निर्माणपक्षले गरेको छ । फिल्मको निर्माण कम्पनी आइसफल प्रोडक्सनले जारी गरेको विज्ञप्तीमा क्यूएफएक्सले देशी तथा विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने इमेल लेखेको भन्दै निर्माणपक्षले यस्तो कदम चाल्न वाध्य भएको उल्लेख गरेको छ ।

फिल्मका निर्माता रामकृष्ण पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘प्रदर्शनको सँघारमा देशको सबैभन्दा ठूलो सिनेमा चेन क्यूएफएक्सले ‘द रेड सुटकेस’लाई अन्य देशी–विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्न सकिने आसयको इमेल लेखेपछि हामीले यसलाई आपत्तिजनक मान्दै क्यूएफएक्स चेनमा फिल्म प्रदर्शन गर्न नसकिने घोषणा गरेका छौं ।’ निर्माताले अन्य हलमा भने फिल्म पूर्व निर्धारित मितिमा नै रिलिज हुने उल्लेख गरेको छ । 

देशलाई फिल्मको माध्यमबाट संसारभर प्रतिनिधित्व गर्ने यस्ता फिल्मलाई नेपालमा व्यापारको नाममा गरिने विभेद नयाँ नभएको पनि निर्माणपक्षले उल्लेख गरेको छ । कलात्मक चेतमा निर्माण भएका यस्ता फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्दै आइरहेको भन्दै निर्माताले आपत्ति जनाएका छन् । 

निर्माणपक्षले फिल्म नै रिलिज नहुँदै कुनै पनि फिल्मको व्यापारको भविष्यवाणी नगर्न पनि आग्रह गरेको छ । निर्माताले आफूहरूले सम्मानजनक व्यवहारको पक्षमा आफूहरू रहेको बताएका छन् । 

फिडेल देवकोटाको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरले दर्शकको मन जितिरहेको छ । फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । यो फिल्मको प्रशारण अधिकार एचबिओले खरिद गरिसकेको छ । 



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment