१७ वर्षको उमेरमा फिल्म अवीस्कार गरेकी नीति शाह नायिकाका रुपमा आफूलाई प्रस्तुत गर्ने तयारीमा

२४ चैत, काठमाडौं । मोडल तथा मिस इन्टरनेसनल २०१७ नीति शाह नायिकाका रुपमा आफूलाई प्रस्तुत गर्ने तयारीमा छिन् । उनको पहिलो फिल्म ‘खजुरे ब्रो’ वैशाखबाट प्रदर्शनमा आउँदैछ ।

नीति राम्रै गृहकार्य गरेर चलचित्र क्षेत्रमा आएको पाइन्छ । १२ कक्षामा पढ्दा नै अफर आए पनि उनले नेपाल र भारतमा अभिनय सिकेपछि मात्रै फिल्म खेल्न सम्झौतामा गरेकी हुन् । सन् २०१७ देखि नै उनी मिडियाको चर्चामा छिन् तर उनले फिल्म खेल्न भने २०२३ पर्खिइन् । उनी भन्छिन्, ‘मलाई १७ वर्षको हुँदा नै फिल्ममा अफर आएको थियो । तर मेरो चिनजानको मान्छे यस क्षेत्रमा भएकाले अस्वीकार गरेँ ।’ सैन्य परिवारमा हुर्किएकी नीति मोडलिङ क्षेत्रबाट फिल्म प्रवेश गरेकी हुन् ।

चिनेकी दिदीको माध्ययमबाट ‘म्यागेजिन’का लागि फोटो खिचाएर उनले मोडलिङको यात्रा सुरु गरेकी हुन् । मोडलिङ क्षेत्रमा एक किसिमका छाप छाडेकी नीति फिल्ममा सफल हुन्छिन् कि हुँदिनन्, त्यो समयले निर्धारण गर्छ तर नेपाली फिल्मले ‘फेस भ्यालु’ भएको नायिका भने पक्कै पाएको छ । अर्थात् उनको समर्थक लाखौंका संख्यामा छन् ।

सेनाको परिवार

नीतिका बुबा अवकाशप्राप्त कर्णेल हुन् भने आमा शिक्षिका । काठमाडौंमै जन्मे हुर्केकी उनी एक्ली सन्तान हुन् । टेलिभिजन मोहले नै नायिका बन्ने यात्रामा हिँड्न प्रेरित गरेको उनलाई महसुस हुन्छ । उनी भन्छिन्, ‘टेलिभिजन हेर्न एकदमै रमाइलो लाग्थ्यो । अनि पर्दा पछाडि कस्तो होला भन्ने बुझ्न एकदमै इच्छुक थिएँ ।’ यसरी पर्दा पछाडिको काम हेर्न बाल्यकालमा घरमा सर्वाधिक हेरिने टेलिसिरियल ‘तितो सत्य’को सुटिङसमेत हेर्न गएको उनी स्मरण गर्छिन् ।

उनी थप्छिन्, ‘दीपकराज गिरीको फ्यान नै थिएँ म । आफन्तको घर नजिक उहाँहरुको सिरियलको सुटिङ हुन्थ्यो । अनि हेर्न गएकी थिएँ । त्यसबेला अटोग्राफ पनि लिएकी थिएँ जस्तो लाग्छ ।’ आर्मीको परिवार भएको र माओवादी जनयुद्ध उत्कर्षमा रहेकाले अन्य साथीसरह खुलारुपले हिँडडुल गर्न नपाई बाल्यकाल बितेको उनलाई अहिले महसुस हुन्छ । उनी भन्छिन्, ‘हामीलाई बाहिर नपठाउने, जहाँ जाँदा पनि आर्मीकै सुरक्षा हुन्थ्यो। १२ पछि मात्रै होला, म एक्लै हिँड्न लागेको । मलाई स्कुलमा पुर्‍याउने, ल्याउने आर्मीले नै गर्नुहुन्थ्यो ।’

मोडलिङ यात्रा

चिनेकी एक दिदीमार्फत् ११ कक्षाको अन्त्यमा कुरा आएपछि मोडलिङको औपचारिक यात्रा सुरु भएको नीति बताउँछिन् । उनै दिदीमार्फत् म्यागेजिका लागि फोटो सुट गराएको उनको मोडलिङ यात्राको सुरुवाती काम हो । ‘त्यो दिदी म्यागेजिनमा नै काम गर्नुहुन्थ्यो । मलाई फोटो सुटको अफर गर्नुभयो । परिवारले पनि स्वीकृति दिनुभयो । मिडिया क्षेत्रमा नै आउन मलाई पनि मन थियो,’ उनी भन्छिन्, ‘मोडलिङतिर चाख भएकाले म्यागेजिनमा फोटो आएहुन्थ्यो जस्तो लाग्न लाग्यो । मोडलिङतिर नै ध्यान भयो मेरो ।’

यसरी मोडलिङमा लाग्दै गर्दा मिस नेपालमा सहभागी हुने लक्ष्यमा थप केन्द्रित हुन हौसला थपिएको उनी सम्झन्छिन् । कक्षा १२ को सुरुवातमै फिल्म अफर आउँदा अस्वीकार गरेको बताउँदै उनी भन्छिन्, ‘मेरो परिवारको कोही पनि फिल्म लाइनमा हुनुहुँदैनथ्यो । अनि कस्तो होला यो क्षेत्र भन्ने नै भयो । १७–१८ वर्षकी छोरीलाई ल, फिल्म खेल्न जाऊ भन्ने कुरा पनि भएन । सायद नचिनेको क्षेत्रमा सानो उमेरकी छोरीलाई कसरी पठाउने भन्ने पनि भयो होला उहाँहरुलाई ।’

तस्बिर स्रोत : नीति शाहको फेसबुक

मिस नेपालको यात्रा

नीति मिस नेपाल २०१७ मा सहभागी भइन् । उनले बच्चैदेखिको सपना मिस नेपाल इन्टरनेसनलको उपाधि जित्नसमेत सफल भइन् ।

तर, उनी स्नातकको अन्तिम वर्षलाई जीवनको व्यस्त समय मान्छिन् । त्यो समय पढाइलाई निरन्तरता दिनुपर्ने बाध्यता र ब्युटी प्याजेन्टको तयारीमा व्यस्तताले फिल्ममा डेब्यू अझ पछाडि धकेलिएको उनको बुझाइ छ ।

उनी भन्छिन्, ‘ब्याचलर पढ्दा त मेरो ध्यान नै मिस नेपालमा थियो । त्यस्तै केन्द्रित भएँ । मिस नेपालका दौरान धेरै कुरा एकै पटक भइरहेको थियो । ब्याचरलको परीक्षा पनि त्यहीबेला थियो । जापानमा आयोजना हुने मिस इन्टरनेसनल पनि त्यहीबेला भयो । म परीक्षा भ्याएर, आएर मिस इन्टरनेसनलको प्रक्रियामा सहभागी भएको थिएँ ।’

व्यस्तता र अभियनमा अनुभव नभएकाले फिल्म अफर आउँदा पनि अनुबन्ध नभएको उनी बताउँछिन् । उनी थप्छिन्, ‘फिल्मको अफर आइरहे पनि मसँग समय नै थिएन । फेरि फिल्म साइन गरिहाल्न अभिनय सिकेकी पनि थिइनँ । मैले त्यही बेला ड्रिम्स र प्रेम गीत अस्वीकार गरेको हुँ ।’

तयारी साथ फिल्ममा

नेपालमा र भारतको मुम्बईंमा अभिनय सिकेपछि मात्रै नीति फिल्ममा अनुबन्ध भएकी छन् । सम्भवतः पाइपलाइनमा सबैभन्दा बढी फिल्म राख्ने नायिक नीति नै हुन् । तर, उनको ‘फेस भ्यालु’ भएका नायकको फिल्मबाट डेब्यु गर्ने इच्छा भने पूरा नहुने पक्का भएको छ ।

इच्छाअनुसार नै उनी ठूला ब्यानरमा बन्ने फिल्ममा अनुबन्ध भइन् तर ती फिल्म बनेनन् । अनमोल केसी नायक रहेको फिल्म ‘रावायण’मा उनी अनुबन्ध भइन्, तर अन्तिम समयमा आनमोलले फिल्मबाट हात झिके । यो काण्ड प्रहरीसम्म पुग्यो । अर्को फिल्म ‘नाइन एक्स’मा प्रदीप खड्का र अनमोल दुई मध्ये एक नायक रहने हल्ला थियो । जसमा नायिका नीति बन्ने चर्चा थियो । उनको डेब्यु फिल्म यही रहने चर्चा थियो । तर, निर्माण पक्ष अझै सुटिङमा निस्कने तयारीमा छैन ।

अन्ततः उनको ‘डेब्यु’ फिल्म ‘खजुरो ब्रो’ हुने भएको छ । डेब्युमै प्राविधिक समस्या झेलेकी उनी भन्छिन्, ‘फिल्म भनेको क्रिएटिभ फिल्ड हो । यस्ता समस्यालाई समान्य लिनुपर्छ ।’ यद्यपि डेब्यू फिल्ममा फरक र रमाइलो अनुभव नीति सुनाउँछिन् । उनी भन्छिन्, मलाई सुटिङमा गएपछि यो रमाइलो क्षेत्रमा किन ढिला आएँ भन्ने भयो ।’

नीति अहिले नाम घोषण नगरिएको फिल्मको वर्कसपमा व्यस्त छन् । उनको अर्को फिल्म ‘रुखान’ पनि छायांकनमा निस्कने तयारीमा छ ।

आर्ट फिल्ममा काम गर्ने इच्छा

नीतिले अभिनय सिकेर फिल्ममा अनुबन्ध गर्नुको कारण नै सिनेमालाई करिअरका रुपमा लगाडि लैजान खोज्नु हो । यो सुरुवाती अवस्थामा मेकरबाट उनले राम्रै साथ पाए पनि दर्शकबाट कतिको पाउँछिन्, त्यो भने हेर्न बाँकी छ । तर नीति तीन–चारवटा पछि ‘आर्ट’ फिल्ममा देखिने योजना रहेको बताउँछिन् ।

‘आर्ट फिल्मका लागि मैले गृहकार्य राम्रै गर्नुपर्छ जस्तो लाग्छ । कुनै अर्थपूर्ण पात्रको भूमिका गर्ने योजनामा छु । बाँकी समय त समयले निर्धारण गर्छ,’ उनी भन्छिन्, ‘केही समयको अनुभवपछि आर्ट फिल्ममा तयार भइन्छ जस्तो लाग्छ । त्यसैले केही अरु फिल्मा अनुभव लिएर आर्ट फिल्म गर्न चाहन्छु ।’

अहिले विभिन्न फिल्ममा अनुबन्ध भएको भन्दै आउने समाचारले दबाब बढेको नीति अनुभव सुनाउँछिन् । उनी भन्छिन्, ‘पहिलो फिल्म प्रदर्शन होस् । त्यसबाट आएको प्रतिक्रिया अनुरुप क्रम गर्ने इच्छा थियो । फिल्ममा अनुबन्ध भएको समाचारको सूची ठूलो भइसक्यो । अलिकति दबाब मसुस भइरहेको छ ।’



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment