सकियो मिस्टर एन्ड मिस नेसनलको काठमाडौँ अडिसन

१५ चैत, काठमाडाैं । नेपालको लोकप्रिय सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस नेशनल नेपाल २०२४ को काठमाडौँ अडिसन सम्पन्न भएको छ। ज्ञानेश्वरको एटिकमा सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरुले सहभागी भए।

देशका विभिन्न स्थानबाट छनोट भएका प्रतियोगीहरुले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड, अल्बानिया, इजिप्ट र थाइल्याण्डमा सहभागिता गराइनेछ। साथै, प्रतियोगीहरुलाई तीन हप्ताको तालिम र पोर्टफोलियो सुट समेत गराइने छ। विजेताहरुले २.५ लाख बराबरको गिफ्ट ह्याम्परसमेत पाउने छन्।

प्रतियोगिताका लागि मार्च २०२४ को अन्त्यसम्ममा २४ जना फाइनलिस्ट छनोट गरिनेछ। प्रतियोगीहरुले ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीम वेयर राउन्ड जस्ता विविध विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन्। मिस नेशनल २०२४ को घोषणा अर्थात् ग्रान्ड फिनाले अप्रिलको अन्तमा हुनेछ।

प्रतियोगिताको टप मोडल राउन्ड र स्वीम वेयर राउन्ड पोखराको द विच रिसोर्ट र कुश्माको हार्नेस जिपलाइनमा आयोजना गरिने छ। त्यसै गरी पृथ्वी दिवसको अवसर पारेर वृक्षरोपण गर्ने विशेष योजना रहेको आयोजकद्वारा जानकारी दिइएको छ।

मे महीनामा परिचयात्मक भिडियो सुट, जुलाई महिनामा मिस्टर एण्ड मिस सुप्रानेशनलका विजेताहरू पोल्याण्डमा आयोजना गरिने मिस्टर एण्ड मिस सुप्रानेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रनेछन्। कार्यक्रमको प्रत्यक्ष प्रशारण इमेज टेलिभिजनबाट गरिनेछ।

त्यसै गरी थाइल्याण्डमा मिस्टर नेशनल, अल्बानियामा हुने मिस ग्लोब र इजिप्टमा हुने मिस इन्टर कन्टिनेन्टलमा पनि नेपालको प्रतिनिधित्व गर्न प्रतिस्पर्धीहरुलाई पठाइने छ।

प्रतियोगिताको कोरियोग्राफी दिक्पाल कार्कीले गर्ने छन् भने पासरेलो ट्रेनरका रूपमा स्मिथ तामाङ र अन्तराष्ट्रिय कोच रिचर्ड आइएसए रहनेछन्।

मंगलबार सम्पन्न अडिसनका लागि सनुर्वीका संचालक डा. सन्तोष उपाध्याय, पूर्व मिसअर्थ प्रिया सिग्देल, मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, मिस सुप्रानेशनल २०२२ केशु खड्का र पासरेलो ट्रेनर स्मिथ तामाङले निर्णायक बनेका थिए।

सनुर्वी इन्टरनेशनल नेपालको स्वामित्वमा पाँचओटा अन्तर्राट्रिय सौन्दर्य प्रतियोगिताहरुको फ्रेन्चआइज छन् जसमध्ये मिस सुप्रानेशनल, मिस ग्लोब, मिस्टर इन्टरनेशनल, मिस इन्टर कन्टिनेन्टल र मिस्टर सुप्रा नेशनल रहेका छन्।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment