गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषित

१४ चैत, काठमाडाैं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चैत १३ गते मंगलबार उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी विभागको सिफारिसमा गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ । सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने गौतमश्री सहकारीमाथि सहकारी ऐन, नियम, मूल्य मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकोले कारबाही गरिएको हो ।

उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विभागले सहकारीलाई त्रैमासिक रूपमा बचतकर्ताको १ अर्ब फिर्ता गर्नुपर्ने सर्त दिएको थियो । सर्त अनुसार सहकारीले पैसा फिर्ता गर्न नसकेपछि समस्याग्रस्त घोषणा भएको हो ।

बचतकर्ताले रकम फिर्ता नपाएको उजुरीपछि सहकारी विभागले २०७९ साउन १९ गते उक्त संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफरिस गरेको जनाएको थियो। उक्त सहकारी संस्थाका ११ सयभन्दा बढी बचतकर्ताले १ अर्ब ७५ करोडको मागदाबीसहित विभागमा उजुरी दिएका थिए ।

सहकारी विभागका अनुसार २०७४ सालयता १३ वटा सहकारी समस्याग्रस्त घोषणा गरिएको छ। पछिल्लोपटक भदौ १ गते सरकारले पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

समस्याग्रस्त सहकारी संस्थाको सूचीमा ओरेण्टल को–अपरेटिभ लिमिटेड, स्ट्यान्डर्ड सेभिङ एन्ड को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को –अपेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एन्ड को –अपरेटिभ लिमिटेड, कन्ज्यूमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टड सेभिङ एन्ड को –अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्ट्यान्डर्ड मल्टिपर्पोज को –अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुः निभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

digital khabarhealthnepalNews
Comments (0)
Add Comment