राष्ट्रपति बन्नका लागि ट्रम्पको चीन विरोधी अभियान तिब्र, एजेण्डा – “चीनका उत्पादनमा ६० प्रतिशत कर”

२२ माघ, एजेन्सी । राष्ट्रपति निर्वाचन नजिकिएसँगै दोस्रो कार्यकालका लागि राष्ट्रपतिको दौडमा होमिएका डोनाल्ड ट्रम्पले आफ्नो पजत सुनिश्चित गर्न चीन विरोधी अभियानलाई तिब्र बनाएका छन् । यस अघि पहिलो कार्यकालमा चीन बिरुद्ध विभिन्न निर्णय गराएका ट्रम्पले अहिले चुनावको एउटा अस्त्रको रुपमा सोही अभियानलाई तिब्र बनाएका हुन् ।

हालै एक अन्तरवार्तामा ट्रम्पले आफू राष्ट्रपति भए चीनबाट अमेरिका निर्यात हुने सामाग्रीहरुमा लाग्ने करको दायरा बढाएर ६० प्रतिशतसम्म पु¥याउने बताएका छन् । पछिल्लो समय चीन र अमेरिकाको व्यापारिक सम्बन्ध चिसिँदै गएको छ । यस समयमा ट्रम्पले दिएको कर बढाउने अभिव्यक्ति प्रचारमुखी नारा रहेको चर्चा हुने गरेको छ ।

सन् २०१७ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्पले सन् २०१८ मा पहिलो पटक चीनबाट अमेरिका निर्यात हुने सामाग्रीमा १५ प्रतिशत कर घोषणा गरेका थिए । चीनले अमेरिकामा उत्पादन हुने सामाग्रीहरुको नक्कल गरी नयाँ सामाग्रीहरु उत्पादन गरेको ट्रम्पको तर्क छ । विश्वव्यापी रुपमा वस्तुको उत्पादन तथा बिक्री वितरणमा प्रतिस्पर्धा भइरहँदा चीनले कम्पनी तथा उद्योगहरुलाई सहुलियत प्रदान गर्नु हुँदैन भन्नेमा ट्रम्प विश्वास गर्छन् ।

ट्रम्पले विश्व व्यापारमा चीनले अस्वस्थ प्रतिष्पर्धा गरेको बताउँदै करको दायरा बढाएमा मात्रै चीनमा उत्पादन हुने वस्तु तथा सामाग्रीहरुले विश्वव्यापी रुपमा स्वस्थ प्रतिस्पर्धा हुने बताएका छन् । तर सन् २०१८ मा ट्रम्पले चिनियाँ उत्पादनमा १५ प्रतिशत करको घोषणा गरेपछि त्यसको सिधा असर भने अमेरिकी नागरिकलाई नै परेको थियो । करको भार उपभोक्तामा नै पुग्दा अमेरिकी उपभोक्ता ट्रम्पको निर्णयबाट प्रभावित बनेका थिए ।

अन्य देशहरुमा उत्पादन हुने सामाग्रीको तुलनामा चीनमा उत्पादन हुने सामाग्रीहरु विश्वव्यापी रुपमा सस्तो मूल्यमा पाइन्छ । तर चिनियाँ सामाग्रीमा भन्सार महशूल बढाउँदा त्यसको प्रभाव सम्बन्धित मुलुकका उपभोक्तामा पर्ने गर्छ । ट्रम्पले सन् २०१८ मा घोषणा गरेको कर व्यवस्थाका कारण चीन र अमेरिकाबीच व्यापार युद्ध सुरु भएको थियो । जसबाट अमेरिकी नागरिकहरुले कर लागु हुनुअघि सस्तो मूल्यमा खरिद गरिरहेका सामान महंगो मूल्यमा किन्नु परिरहेको छ ।

सन् २०१८ मा ट्रम्पले चिनियाँ सामाग्रीमा भन्सारदर बढाएयता हालसम्म अमेरिकी उपभोक्ताले ती सामाग्रीको खरिद गर्दा १ खर्ब ९५ अर्ब अमेरिकी डलर थप भुक्तानी गरिरहेको अमेरिकाको थिङ्क ट्यान्क अमेरिकन एक्सन फोरमले जनाएको छ । यस्तै उक्त कर लागू भएपछि चिनियाँ सामाग्रीको मूल्य बढ्दा चिनियाँ सामाग्रीको उपभोग घटेको छ । चिनीया उत्पादनको उपभोगमा आएको गिरावटसँगै अमेरिकामा चिनीयाँ उत्पादनको बजार प्रभावित हुन पुग्यो । जसको सिधा असर त्याँको श्रम बजारमा पनि परेको छ । अमेरिका–चीन बिजनेस काउन्सिलले गरेको एक अध्ययनका अनुसार सन् २०१८ देखि हालसम्म चिनियाँ सामाग्रीमा लगाइएको करले २ लाख ४५ हजार मानिसहरुको रोजगारी गुमेको छ ।

यस्तै सन् २०१८ मा जब ट्रम्प प्रशासनले चिनियाँ उत्पादनमा कर लगाउने निर्णय गर्यो, त्यस समयमा जर्मनीको ड्युस्च बैंकले गरेको अध्ययन अनुसार अमेरिकी सेयर बजारबाट ५ ट्रिलियन डलर बाहिरिएको थियो । चीनसँगको व्यापारमा गरिएको कडाइले लामो समयसम्म मानिसहरुको जीवनमा अप्रत्यक्ष प्रभाव पारिरहने विश्लेषण पनि भइरहेका छन् ।

यस अघि आइवा कौकसमा भएको रिपब्लिकन पार्टी उम्मेदवारको चुनावमा डोनाल्ड ट्रम्प र संयुक्त राष्ट्र संघकी राजदूत निकी हेलीबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा ट्रम्पले चिनियाँ सामग्रीमा थप कर लगाउने घोषणा गरेका थिए भने हेलीले त्यसको विरोध गरेकी थिइन् । उनले चिनियाँ सामग्रीमा लगाउँदै आएको करको दायरा बढाउँदा अन्ततः अमेरिकी परिवारहरु नै समस्यामा पर्ने र त्यसले वार्षिक रुपमा एक परिवारले दुई हजार ६०० डलर थप खर्चनु पर्ने बाध्यात्मक अवस्था सिर्जना हुने तर्क गरेकी थिइन् । उपभोक्ताको विषय उठान गरे पनि उक्त निर्वाचनमा हेली आइवा कौकस ट्रम्पसँग पराजित भएकी थिइन् ।

ट्रम्पले अघि सारेको कर नीतिले आम अमेरिकी समस्यामा पर्ने देखिएता पनि, एलन मस्क लगायतका अन्य अमेरिकी धनाढ्यहरुले भने उक्त नीतिको समर्थन गरेका छन् । आफ्नो व्यवसायलाई उचाईमा पुर्याउन चीनजस्तो प्रतिष्पर्धी अघि अघि रहेको अवस्थामा उसलाई मैदानबाट बाहिर गराउनका लागि अमेरिकी उद्योगी तथा व्यवसायीहरुले ट्रम्पको साथ दिइरहेका छन् । ट्रम्प आफैँ पनि अकेरिकाका प्रभावशाली व्यवसायी हुन् ।

धनाढ्यहरुको समर्थन पाएका ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनाव जित्नका लागि चीन विरोधी वक्तव्यहरु दिइरहेका छन् । यसले अमेरिका चीनबीचको व्यापारयुद्धलाई थप मलजल गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment