पुटिनले बारम्बार युक्रेनसँग युद्ध रोक्ने संकेत किन गरिरहेका छन् ?

१३ जेठ, एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले शान्ति वार्ताका लागि युक्रेनसँग संवाद गर्ने संकेत देखाएका छन् । दुई साताअघि चीनबाट यस्तो सन्देश दिएका उनले फेरि युद्ध रोक्न रूस सकारात्मक रहेको संकेत गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

युद्ध सुरू हुनुअघि इस्तानबुलमा तयार भएको सहमति पत्रलाई आधार मान्दै शान्ति वार्ता गर्न पुटिन तयार रहेको रोयटर्सलाई उद्दृत गर्दै सीएनएनले समाचार लेखेको छ ।

गत फेब्रुअरीमा अमेरिकन टेलिभिजन प्रस्तोता टकर कार्ल्सनलाई पुटिनले अर्न्तवार्ता दिएका थिए । त्यसमा युक्रेनले नै इस्तानबुलको सहमति रद्दीको टोकरीमा फालेपछि युद्ध नरोकिएको बताएका थिए ।

उनले भनेका थिए, ‘युद्ध अन्त्यका लागि पहल वा वार्ता नभएका होइनन् । गत वर्ष इस्तानबुलमा यसको प्रयत्न भएकै हो । सम्झौताका लागि निकै उच्च तहमा पहल भएकै हुन् । इस्तानबुलमा हामीलाई किभबाट सैनिक फिर्ता हुनुपर्ने भनियो ।

मैले फ्रान्स र जर्मनीका मेरा समकक्षीसँग कुरा गर्दा उनीहरुले सम्झौताका लागि यो कदम आवश्यक भनेँ । मैले पनि किभबाट सेना फिर्ता गर्ने भनिदिएँ । जसै, त्यो निर्णय रुसले लियो त्यही बखत सम्झौताका बुँदा युक्रेनले डस्टविनमा फालिदियो । बेलायत र अमेरिकाको उक्साहट हामीमाथि सैन्य आक्रमण बढायो ।’

बेलारूसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्को मस्को भ्रमणमा गएका बेला पुटिनले शान्ति वार्ताको संकेत गरेका हुन् । यो निकै महत्वपूर्ण संकेत रहेको छ । युक्रेनसँग युद्ध सुरु हुनु अगाडि पनि लुकासेन्कोसँगै उनले युद्धको संकेत मात्रै नभएर युक्रेनविरुद्धका सैन्य गतिविधिका लागि बेलारूसको भूमि समेत प्रयोग गरेका थिए ।

लुकासेन्कोको भ्रमणमा पुटिनले यसपटक दुई मुलुकबीच आणविक हतियारको अभ्यासबारे मात्रै नभएर युद्ध रोक्न शान्तिवार्ताको संकेत पनि गरेको रोयटर्समा उल्लेख छ ।

युद्धका कारण युक्रेनमा चुनाव हुन सकेको छैन । त्यसैले पुटिनले युक्रेनका वर्तमान राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीको वैद्यतामाथि प्रश्न उठाइरहेका छन् ।

यहीबीचमा युक्रेनका पूर्वराष्ट्रपति भिक्टोर यानुकोभिच बेलारूस पुगेका थिए । यानुकोभिचका समर्थकहरू मारिएपछि सन् २०१४ मा उनले युक्रेन छोडेका थिए । पुटिन र लुकासेन्कोको हालको भेट युक्रेनमा हुने चुनावबाट आफू निकटलाई सत्तामा ल्याउने कोशिसका लागि पनि भएको आँकलन भइरहेको छ ।

रूसी राष्ट्रपति पुटिन दुई साताअघि चीन समेत पुगेका थिए । त्यहाँ पनि उनले शान्तिवार्ताको संकेत गरेका थिए । वार्तामा बस्न आफू तयार रहेको भन्दै पुटिनले भनेका थिए, ‘युद्ध अन्त्यका लागि संवाद गर्न रूस सधैँ खुला छ । युद्धमा संलग्न सबै राष्ट्रको हित हुनेगरी हामी सम्झौताका लागि तयार छौँ । हाम्रो धारणा चीनले राम्रोसँग बुझेको छ।’

युद्धको अग्रमोर्चामा हालैका महिनामा सफलता हात पारिरहेको रूसले किन शान्ति वार्तालाई अहिले निकै प्राथामिकता दिएको छ त ?

यसको लागि रूसको रणनीति बुझ्नुपर्ने हुन्छ । क्रेमलिनले कुटनीतिलाई जहिले पनि सैन्य उपकरणका रूपमा लिन्छ । उदाहरणका लागि सन् २०१५ मा सिरियामा भीषण हमलापछि उसले शान्ति वार्ताको कुरा गर्‍‍यो । यस्तै सन् २०१५ मा युक्रेनको भूभागमा आफ्नो सेना पठाएसँगै उसले शान्तिको प्रस्ताव गर्‍यो ।

शान्ति वार्ताको रूसको संकेतलाई संशयका रूपमा हेर्ने भन्दा पनि यसलाई आजको आवश्यकताका रूपमा लिनुपर्ने मत रहेको छ । थप हिंसाविनै उपयुक्त परिणाम आउने अवस्थामा र युद्ध रोकेर प्रतिद्वन्द्वीलाई सम्झौतामा प्रोत्साहित गर्ने उद्देश्यले रूस अघि बढेको देखिन्छ । मस्कोले दुई कारणले शान्ति वार्तालाई प्राथमिकतामा राखेको छ ।

पहिलो, जुनमा स्वीटजरल्याण्डमा हुन गइरहेको शान्ति सम्मेलन । पश्चिमा गठबन्धनले गर्ने शान्ति सम्मेलनमा रूसबारे छलफलमात्रै नभएर युद्ध नरोकिएको अवस्थामा थप सहयोगबारे छलफल र सम्झौता हुनसक्छ ।

त्यसअगावै शान्तिको पहल गर्ने क्रेमलिनको कोशिस छ । जेलेनेस्कीले युद्ध अन्त्यका लागि चीनसँग आशा रहेको बताएका छन् । त्यसैले पुटिन स्वयंले हाललाई बेइजिङलाई सम्झौताको अग्रभागमा नल्याउनका निम्ति आफैँले पहल गरिरहेका छन् ।

स्वीटजरल्याण्डको सम्मेलनबाट शान्तिको सहमति हुने संभावना निकै न्युन छ । तर त्यस सम्मेलनले पश्चिमालाई रूसले दिएको चुनौतीबारे विस्तृत रणनीतिक खाका स्वभाविक रूपमा गर्ने देखिन्छ ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले जुनको शान्ति सम्मेलन विथोल्ने प्रयत्नले पुटिनले हाल शान्ति वार्तालाई प्राथमिकतामा राखेको आरोप लगाइसकेका छन् ।

‘युद्ध रोक्ने पुटिनको मनसायनै छैन । स्वीटजरल्याण्डमा हुने सम्मेलनबाट उनी अत्तालिएका छन् । त्यसैले अहिले शान्तिवार्तालाई प्राथामिकतामा राखेझैँ गरेका हुन्’, उनले एक्समा लेखेका छन् ।

दोस्रो, पुटिनले युरोपमा पपुलिस्टहरुको उदय र अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट रिपलब्लिकनको प्रशासन आउनाले युद्ध यसैपनि रोकिने अपेक्षा राखेका छन् ।

पश्चिमाहरुका लागि यो युद्ध निकै खर्चिलो बनिसकेको छ । अमेरिकाले गत महिनामात्रै युक्रेनलाई ६१ अर्ब डलर बराबरको सहयोग घोषणा गरेको थियो । युद्ध अन्त्य भएको हेर्न चाहने पश्चिमाहरु क्रेमलिनले चाहेमा युद्ध अन्त्य हुने विश्वास राख्छन् ।

यता, डोनाल्ड ट्रम्पले आफूले २४ घण्टाभित्रै युद्ध रोक्न सक्ने बारम्बार बताएका छन् । नेटोका अन्य सदस्यहरु भने वार्ताको टेबलमा क्रेमलिनलाई विश्वास गरिहाल्ने परिस्थिति नआएको बताउँछन् ।

पुटिनले यस युद्धलाई सहज आँकेका थिए । युक्रेनलाई जित्न कुनै कठिनाइ नरहेको उनको आँकलन थियो । उनको अपेक्षा विपरीतको परिस्थितिको सामना पुटिनले गर्नुपर्‍यो । तत्कालिन हिसाबले पुटिन सही नै देखिन्छन् ।

युद्ध स्थगित भएको परिस्थितिमा यसको प्रतीक्षामा रहेकाहरुमाझ केही आशा जाग्नेछ । तर यसले नेटो सदस्यहरुमाझ निम्त्याउने जोखिमबारे पनि उत्तिकै ख्याल गर्नुपर्ने हुन्छ ।

तथापि शान्ति अहिलेको अपरिहार्य अवस्था रहेकाले युद्धको अवतरणमा केन्द्रित हुँदा पुटिन र क्रेमलिनप्रति संशय रहे पनि सबैको हित हुन्छ । शान्ति वार्ताबारे उनको संकेत र सन्देशलाई सार्थकता दिँदै अघि बढ्दा श्रेयस्कर देखिन्छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment