अमेरिकामा आँधीका कारण १८ को मृत्यु, लाखौं प्रभावित

१४ जेठ, एजेन्सी। संयुक्त राज्य अमेरिकाको मध्य क्षेत्रमा घातक आँधीका कारण चार बालबालिकासहित १८ जनाको मृत्यु भएको र लाखौंले गम्भीर मौसमको खतराको सामना गर्नुपरेको सिएनएनले जनाएको छ ।

मुख्यतया मध्य–मिसिसिपी, ओहायो र टेनेसी उपत्यकाजस्ता अमेरिकाको फराकिलो क्षेत्रहरूमा आइतबार करिब १० करोड ९० लाखभन्दा बढी व्यक्ति असिना, दूषित र तेजयुक्त हावा र भयानक आँधीको खतराको सामना गर्नु परेको थियो ।

आँधी पूर्वानुमान केन्द्रले आँधीबेहरी पूर्वतिर सर्दै जाँदा खराब मौसमी प्रभावले व्यापक क्षति पुर्याउने चेतावनी दिएको छ । केन्द्रले अर्कान्सास, इलिनोइस, केन्टकी, मिसौरी र टेनेसीका भागहरू समेट्छ । सेन्ट लुइस र जेफरसन सिटी, मिसौरी, पादुका, केन्टकी, कार्बोन्डेल, इलिनोइसका चार लाख ७० हजार मानिसलाई प्रभावित गर्ने जनाएको छ ।

आइतबार, कम्तिमा ११ वटा आँधीबेहरी आएको बताइएको छ भने ‘मेमोरियल डे’मा मौसम अझ गम्भीर हुने अनुमान गरिएको छ ।

सोमबार १२ करोडभन्दा बढी मानिसहरू गम्भीर मौसमको जोखिमबीच न्यू इङ्गल्यान्डको दक्षिणको पूर्वी तटमा केन्द्रित छन् । यसबाहेक, आइतवार इन्डियाना, इलिनोइस र केन्टकी हुँदै आएको आँधीबेहरीले पूर्वतिर सर्दै निरन्तर खतरा उत्पन्न गरिरहेको छ ।

भारतको उत्तरी क्षेत्रमा उष्ण लहर चल्न थालेपछि जनजीवन प्रभावित

विगत केही दिनदेखि भारतको उत्तरी क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । गर्मीसँगै उष्ण लहर प्रवाहित हुन थालेपछि दिल्लीसँग जोडिएको गुरुग्राम शहरका विद्यालयहरू आगामी पाँच दिनका लागि बन्द गरिएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार दिल्ली, हरियाणा, पञ्जाब, राजस्थान र उत्तर प्रदेशको पश्चिमी भागमा व्यापक उष्ण लहर चलिरहेको छ । यो अत्यधिक तातो हावा प्रवाहित हुने क्रम आगामी केही दिनसम्म जारी रहने पुर्वानुमान विभागले गरेको छ ।

प्रतिकुल मौसमबाट बालबालिकालाई बचाउनका लागि दिल्लीसँग जोडिएको हरियाणा राज्यको एक भाग गुरुग्राममा कक्षा ८ सम्मका विद्यालयहरु बन्द गरिएको छ ।

उष्ण लहरसँगै गर्मीका कारण हुने विविध स्वास्थ्य समस्यापछि खासगरी सहरी क्षेत्रमा अधिकारीहरूले अतिआवश्यक बाहेकको अवस्थामा घर बाहिर ननिस्कन र छहारीमा बस्न नागरिकहरूलाई आग्रह गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment