भारतीय मोडल पुनम पाण्डे जिउँदै भेटिइन्, भिडियो सेयर गर्दै मागिन् माफी

२० माघ, काठमाडौं । मृत्यु भनिएकी भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डे जीवित रहेकी खुलेको छ। अभिनेत्रीले शनिबार दिउँसो सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन यो पब्लिसिटी स्टन्ट गरेको बताएकी छन्। उक्त भिडियोमा उनले सबैसँग माफी पनि मागेकी छन्।

प्राप्त जानकारीका अनुसार पुनमले भोलि अर्थात् आइतबार बिहान १० बजे लाइभ आएर यो जानकारी दिन चाहेको तर आफ्नो निधनको खबरले मानिसहरू आक्रोशित र अन्योलमामा पर्न थालेपछि शनिबारै भिडियो शेयर गरेर माफी माग्ने निर्णय लिएको बताएकी छन्। स्रोतका अनुसार अभिनेत्री हाल पुनेस्थित लोनावलामा छिन्।

उक्त भिडियोमा पुनमले भनेकी छन्, ‘म जिउँदै छु। पाठेघरको मुखको क्यान्सरले गर्दा म मरेको होइन । दुर्भाग्यवश, पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाबारे पनि म यसो भन्न सक्दिनँ। अब के गर्ने भन्ने अवस्था आएपछि यस्तो गर्नुपरेको उनले स्पष्ट पारेकी छन्।

‘म यहाँ के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरु क्यान्सरजस्तो होइन। यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नु र एचपीभी खोप लिनुपर्छ। हामी यो सबै गर्न सक्छौं, ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस्,’ उनले भिडियोमार्फत भनेकी छन्।

यसअघि शुक्रबार बिहान ३२ वर्षीया मोडल तथा अभिनेत्री पाण्डेको मृत्युको खबरले भारतभर सनसनी फैलाएको थियो। पुनमको मृत्युको कारण पाठेघरको मुखको क्यान्सर भएको बताइएको थियो। उनको टोलीले नै मृत्युको जानकारी दिएको झुटो खबर फैलाएको थियो।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment