‘राममय’ जनकपुर–अयोध्या, भोलि ‘प्राणप्रतिष्ठा’

०७ माघ, जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा रामलला (रामको बालस्वरूप) को मूर्ति राखेर विभिन्न पूजन कार्य थालिएको छ।

गत बुधबार सुरु भएको हवन तथा पूजन कार्य सोमबारसम्म चल्नेछ। सोमबार रामललाको प्राणप्रतिष्ठा हुँदैछ। यसअघि पूर्व शुभ संस्कार प्रारम्भ अर्थात् प्रायश्चित तथा कर्मकुटी पूजन भइरहेको हो ।

सोमबार राममन्दिरमा मूर्तिको प्रवेश, तीर्थपूजन, जलयात्रा, जलाधिवास, औषधाधिवास, केसराधिवास, धृताधिवास, धान्याधिवास, शर्कराधिवास, फलाधिवास, पुष्पाधिवास, मध्याधिवास र शड्ढयाधिवास भई सम्पन्न हुनेछ। यसको भोलिपल्ट अर्थात् माघ ८ गते मंगलबार रामललाको प्राणप्रतिष्ठा हुनेछ ।

बुधबार राति क्रेनको सहायताले रामललाको मूर्ति राममन्दिर परिसरमा ल्याएर बिहीबार मूर्तिलाई गर्भगृहमा राखिएको हो। रामललाको अभिषेकअघि उनको आसन पनि तयार गरिएको छ। रामललाको मूर्ति ५१ इन्च अग्लो छ। यस मूर्तिलाई कर्नाटकको प्रसिद्ध मूर्तिकार अरूण योगीराजले निर्माण गरेको श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले जानकारी दिए।

रामललाको मूर्ति गर्भगृहमा राख्नुअघि राममन्दिर परिसरमा रहेको रामललाको प्रतीकात्मक मूर्तिको भ्रमण गरिएको थियो। मूर्ति फूलले सजाइएको पालकीमा ल्याइएको थियो। राममन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रले भुइँ तलाको राममन्दिर निर्माणको काम सकिएको जानकारी दिए।

‘रामललाको मन्दिरमा गर्भगृह हुनेछ। यहाँ पाँचवटा मण्डप हुनेछन्,’ उनले भने, ‘तर मन्दिरको पहिलो तलामा केही काम सकिन बाँकी छ।’ उनका अनुसार राममन्दिर बनेपछि रामदरबार पनि हुने भएको छ। मन्दिरको दोस्रो तला पूजाआजाका लागि हुनेछ। यहाँ विभिन्न प्रकारका यज्ञ र अनुष्ठान हुनेछन्। प्राणप्रतिष्ठाको शुभ मुहूर्त जनवरी २२ (माघ ८ गते) दिउँसो साढे १२ बजे हुने उनले बताए।

योगीदेखि अभिनेतासम्म आमन्त्रित

अयोध्यामा बनाइएको भव्य राममन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा कार्यक्रममा मन्दिर ट्रस्टले ७ हजारभन्दा बढीलाई सहभागी हुन आमन्त्रण गरेको छ। जसमा क्रिकेट लिजेन्ड सचिन तेन्दुलकर र विराट कोहली, बलिउड सुपरस्टार अमिताभ बच्चनलगायत छन्। उद्योगपति मुकेश अम्बानी, गौतम अडानी, रतन टाटालगायतलाई पनि सहभागिताका लागि आमन्त्रण गरिएको छ।

मन्दिर उद्घाटनको भव्य समारोहका लागि सहर सजाइएको छ। प्राणप्रतिष्ठाको मुख्य ‘यजमान’ प्रधानमन्त्री नरेन्द्र मोदी हुनेछन्। विगत ७० वर्षदेखि टेन्टमा राखेर पूजा गरिँदै आएको भगवान् रामको विद्यमान मूर्तिलाई पनि नयाँ मन्दिरको गर्भगृहमा राखिने मन्दिर ट्रस्टले जनाएको छ।

कालीगण्डकीको देवशिला पनि गर्भगृहमा

गत वर्ष माघ १८ गते कालीगण्डकी क्षेत्रबाट २४ टन र १४ टनका दुई शिला (शालिग्राम) अयोध्यामा पु¥याइएका थिए। जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई माघ १९ गते आयोजित विशेष समारोबीच ती शिला हस्तान्तरण गरेका थिए। अयोध्या लगिएका शिला गण्डकी प्रदेश सरकारका तर्फबाट अयोध्या पु¥याइएको थियो। राममन्दिरको मुख्य गर्भगृहमा कालीगण्डकीबाट लगिएका दुवै देवशिला राखिने राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले जनाएको छ।
रामको बाल्यकालको मूर्ति बनाउन कालीगण्डकीबाट लगिएका दुई शिला उपयोग नहुने भएको छ। दुई शिलामध्ये एउटा काट्ने क्रममा धर्सा देखिएपछि शिलालाई भने गर्भगृह बाहिरै राखिने भएको छ। दुई ठुला शिलामुनि भेटिएका दुई शालिग्राम राममन्दिरको गर्भगृहमा सधैंका लागि राखिने छ।

अयोध्या विवाद

रामायणका मुख्य पात्र रामको जन्मभूमि भारत उत्तरप्रदेशको अयोध्या रहेकोमा विवाद छैन। तर राममन्दिर बन्दै गरेको स्थल भने विगत करिब ५०० वर्षदेखि विवादमा थियो। हिन्दुहरूले भगवान् रामको जन्मस्थान मानेर पूजा गरिरहेकै ठाउँमा सेनापति मिरबाकीले १६औं शताब्दीको सन् १५२८ मा बाबरी मस्जिद बनाएपछि विवाद सुरु भएको थियो। त्यही बेलादेखि हिन्दु र मुस्लिम धर्मावलम्बीले आआफ्नो दाबी पेस गर्दै विवाद सुरु गरेपछि साढे ४ सय वर्षको अवधिमा ५६ पटक युद्ध भयो, हजारौं मानिसले ज्यान गुमाए।

‘राम जन्मेको ठाउँमा अचानक मस्जिद बनेपछि विवाद बढ्दै गयो। ५६ पटक त हिंसा भएको बताइन्छ,’ श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका सदस्य कामेश्वर चौपालले सम्झे, ‘सन् १९९२ डिसेम्बर ६ तारिखपछिको घटना त सबैलाई थाहा छ। त्यो भारतको इतिहासमै खराबमध्येको धार्मिक साम्प्रदायिक हिंसा थियो।’

चौपालका अनुसार सन् १९९२ डिसेम्बरपछि भारतभर भड्किएको हिंसामा २ हजारको ज्यान गएको थियो भने सबैभन्दा हिंस्रक दंगाका रूपमा मुम्बई सहरमा भएको घटनामा मात्रै ९ सय मानिसले ज्यान गुमाएका थिए। यो विवाद अदालतमा पनि पुग्यो।

पहिलोपटक १८८५ जनवरी १९ मा हिन्दु पक्षधरले अदालतमा मुद्दा हालेकामा विभिन्न अदालत हुँदै २०१९ नोभेम्बर ९ मा भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोई नेतृत्वको पाँच सदस्यीय इजलासले विवादित जमिनमा रामको मन्दिर बनाउने फैसला सुनायो। त्यही फैसलामा मस्जिदका लागि छुट्टै स्थानमा पाँच एकड जमिन उपलब्ध गराउन आदेश भयो।

यही आधारमा ४९२ वर्षपछि अयोध्यामा राममन्दिर बन्दै छ। २०२० फेबु्रअरीमा स्थापित ट्रस्टले लोकसभा चुनावअघि सन् २०२४ को जनवरी अर्थात् मकर संक्रान्तिमा मुख्य भाग (तल्लो तल्ला) निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरेको छ।

यही भागमा देवशिलाबाट निर्मित रामलला राखिनेछ। २०२० अगस्ट ५ मा भूमिपूजा गरी मन्दिर निर्माण थालिएको थियो। यो मन्दिर नागर शैलीमा बनिरहेको छ। सिमेन्ट र छडको प्रयोगबिना बनाइएको मन्दिरको आयु १ हजार वर्ष रहने भनिएको छ। त्यसका लागि मन्दिरमा मार्बल र अरू सामग्री विशेष प्रकारको हुने मन्दिर निर्माण समितिका अध्यक्ष मिश्रले बताए।

अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पुजारीले गराउने भएका छन्। राम जन्मभूमि तीर्थ क्षेत्रले गरेको निमन्त्रणाअनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने भएका हुन्।

यस प्राण प्रतिष्ठाका लागि गरिने विशेष पूजाका निम्ति नेपालबाट एक वशेष पुजारीका रूपमा गौतमलाई आमन्त्रण गरिएको हो। श्रीराम जन्मभूमि मन्दिरको शिलान्यासका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई वैदिक मन्त्रोच्चारसहित शिलान्यास गराउने नेपाली मूलका पूजारी आचार्य गौतमलाई विशेष पूजाका लागि निम्तो गरिएको छ।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत रायले दुर्गाप्रसाद गौतमलाई जनवरी १६ देखि जनवरी २२ सम्म अयोध्याको नवनिर्मित मन्दिरमा हुन गइरहेको प्राण प्रतिष्ठाको विशेष पूजामा सहभागी हुन आग्रहसहित निमन्त्रणापत्र पठाएका हुन्।

झापा मेचीनगर निवासी आचार्य गौतमले आफूलाई प्राण प्रतिष्ठाको पूजा गराउन निम्तो पाउनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन्। उनले प्रधानमन्त्री मोदीलाई २०१९ अगस्ट ५ मा शिलान्यास गराएको सौभाग्य प्राप्त भएको बताउँदै सोही मन्दिरको निर्माणपछि मूर्ति प्राण प्रतिष्ठामा पनि निम्तो पाउनु पुरै देशकै लागि गौरवको विषय भएको बताए।

रामको ससुराली जनकपुरधाम राममय

जनकपुरधाम उपमहानगरपालिकाले राममन्दिरको प्राण प्रतिष्ठाको दिन नगरवासीलाई दिपोत्सव गरेर मनाउन अपिल गरेको छ। उपमहानगरले सूचना जारी गर्दै भारतको अयोध्यामा बुधबार हुने राममन्दिर प्राण प्रतिष्ठाका दिन जनकपुरधामका सम्पूर्ण नागरिकलाई दिपावली मनाउन र राम तथा जानकी मन्दिरमा उपस्थित भई दिप प्रज्वलन गर्न अपिल गरेको हो। महानगरले भारत र नेपालबीचको सम्बन्ध सदियौं पुरानो रहेकाले जनकपुरधामवासीका लागि पनि जनवरी २२ निकै महŒवपूर्ण रहेकाले दिपोत्सव गर्न आग्रह गरेको हो।

यसैगरी सोही दिन सवा लाख दियो बालिने भएको छ। राममन्दिरको उद्घाटन हुने दिन भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भइरहेको छ। जानकी मन्दिरका उत्तराधारी महन्त रामरोशन दासका अनुसार राममन्दिरको प्राण प्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिने छ।

साथै त्यो दिन उत्सवका रूपमा पनि मनाउने योजना रहेको उनले बताए। उनले राममन्दिरको प्राण प्रतिष्ठाका दिनलाई ध्यानमा राखी तयारी तीव्र बनाइएको पनि बताए। राममन्दिरको उद्घाटनको दिन दुवै मुलुकका लागि विशेष भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि उनले आग्रह गरेका छन्।

राममन्दिरको प्राण प्रतिष्ठाका लागि रामको ससुरालीबाट सुनचाँदीका गहना, लत्ताकपडा, फलफूललगायत ३ हजारभन्दा बढी कोसेली अयोध्या पठाइएको छ। यस मधेस प्रदेशमा बिदा घोषणाका लागि दासले मुख्यमन्त्री सरोज यादवलाई आग्रहपत्र बुझाएका छन् ।

(साभार : नागरिक दैनिक)



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment