टाउको दुखाइ बन्दै पानी ट्याङ्की

२८ पुस, लेखनाथ । छ महिनाभित्रै पोखरेलीका घर घरमा पानी पु-याउने लक्ष्यसाथ काम भइरहेको आयोजनाको एउटा ट्याङ्की भने अलपत्र छ । डिसेम्बरसम्म ९३ प्रतिशत काम सकिएको पोखरा खानेपानी सुधार आयोजनाको ट्याङ्की अलपत्र मात्र छैन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र खानेपानी योजना दुवैका लागि टाउको दुखाइ भएको छ ।

आयोजना पूरा भएमा अन्यत्र पानी पुग्ने निश्चित भए पनि महानगरका चार वटा वडामा भने समस्या हुने देखिएको छ । वडा नं. १०, १४, १५ र १७ का करिब ३५ हजारलाई खानेपानी वितरण गर्ने कोलपाटनको ओभरहेड ट्याङ्की अलपत्र परेपछि खानेपानी वितरणमा समस्या हुने शङ्का उब्जिएको हो ।

२०७६ कात्तिकमा निर्माण सुरु भएको यो ट्याङ्कीको काम २०७८ असारदेखि रोकिएको छ । ३१.८ मिटर अग्लो हुने ट्याङ्की २० मिटर बनिसकेको छ । अहिलेसम्म यो ट्याङ्की बनाउन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को १४ करोड खर्च भइसकेको छ । योजना मुताबिक बनाउँदा यसको लागत २५ करोड रुपियाँ पुग्ने अनुमान छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट पश्चिमतर्फ १.४५ किलोमिटरको दुरीमा निर्माणाधीन ट्याङ्कीको उचाइ विमानस्थलको प्रयोजनका लागि काट्नुुपर्ने हुुन्छ । त्यसैले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान), पोखरा महानगरपालिका, खानेपानी संस्थान र जाइकाबिच समन्वय नहुँदा अहिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र खानेपानी योजना दुवै सङ्कटमा परेका छन् ।

क्यानले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि खानेपानी ट्याङ्कीको उचाइ घटाएर १५.५७ मिटर बनाउनुपर्ने अडान लिएको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले ट्याङ्की अहिलेकै अवस्थामा रहँदासमेत हवाई सुरक्षामा गम्भीर असर पर्ने बताउनुभयो । “अन्तर्राष्ट्रिय विमानस्थलको मापदण्ड अन्तर्राष्ट्रिय स्तरकै हुनु पर्छ । यसमा सम्झौता गर्न सक्ने बिन्दु नै छैन । महानगरले हटाउनु पर्छ, नभए नागरिक उड्डयन ऐन प्रयोग गरी हामीले नै मापदण्ड अनुरूप बनाउनुपर्ने हुन्छ ।”

विमानस्थलको अब्स्ट्याकल लिमिटेसन सर्फेसभित्र पर्ने देखिएको भन्दै क्यानले २०७८ साउन ४ गते पत्र पठाएर ट्याङ्कीको उचाइ १५.५७ मिटरमा झार्न निर्देशन दिएपछि निर्माण रोकिएको छ । २० मिटर अग्लो ट्याङ्कीको उचाइ १५.५७ मिटर बनाएर उपयोग गर्न मिल्ने बनाउन थप ६४ करोड रुपियाँ खर्च हुने एक अध्ययनले देखाएको छ । खानेपानी संस्थान पोखराका प्रमुख इन्जिनियर आशिष कार्कीले यो ट्याङ्की उपयोगबारे अध्ययन गरी हालै विभिन्न विकल्प मन्त्रालयमा पेस गरिएको र चाँडै मन्त्रालयले उचित समाधान निकाल्ने बताउनुभयो । उहाँले भन्नुुभयो, “पहिलो विकल्प अहिलेकै अवस्थामा राख्ने, त्यसो नभए क्यानले भने अनुसार काटेर प्रयोग गर्ने अरू चार विकल्पको अध्ययन गरी प्रतिवेदन पठाएका छौँ, चाँडै मन्त्रालयले उचित निर्णय लेला ।”

मन्त्रालयले चाँडै उचित निर्णय लिने बताए पनि यो त्यति सजिलो देखिएको छैन । जाइकाले ट्याङ्कीको उचाइ घटाउने, फेरि उपयोग गर्ने कुरामा सहमति दिएको छैन । केही महिनाअघि जापान भ्रमणमा जाँदा जाइकाका प्रतिनिधिले सबै समस्या सुनेको तर प्रतिव्रिmया नदिएको पोखरा महानगर प्रमुख धनराज आचार्यले बताउनुुभयो । “जापानी जनताको करको पैसा खेर जाने भयो भन्ने उहाँहरूको कुरा छ,” उहाँले भन्नुभयो ।

ट्याङ्की काट्ने निर्णय लिँदा भविष्यमा भ्रष्टाचार मुद्दा खेप्नुपर्ने भय कर्मचारीमा देखिएको छ । खानेपानी मन्त्रालयले पटक पटक अध्ययन समिति बनाएको छ, विज्ञहरूसँग छलफल गरिसकेको छ तर निर्णय लिएको छैन ।

यो खानेपानी आयोजना र ट्याङ्कीबारे सरोकारवाला निकायका सबैजसो प्रमुख जानकार छन् । तत्कालीन समयमा विमानस्थल आयोजनाका प्रमुख रहनुभएका प्रदीप अधिकारी अहिले क्यानका महाप्रबन्धक हुनुहुन्छ । ट्याङ्की बनाउन थाल्दा यसको उचाइले विमानस्थललाई असर गर्ने कुरै उठेको थिएन ।

खानेपानी आयोजनाले भने विमानस्थल आयोजनालाई जानकारी दिएरै काम थालेको दाबी गर्ने गरेको छ । जाइकाको अनुदानमा बनिरहेको करिब साढे चार अर्बको खानेपानी आयोजनाको म्याद छ महिना थप्ने तयारी भएको छ । ट्याङ्की विवाद नसुल्झिए एकातिर चार वडाका स्थानीयले खानेपानी सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आउने छ भने अर्कातिर विमानस्थलको सुरक्षा खतरा पनि रहिरहन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment