टेलिभिजनकाे पर्दा र हाम्रो अनुभवमा भूषण दाहाल (बिधार्थी जीवनकाे संस्मरण)

राजेन्द्र के सी १० कार्तिक, काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघकाे पच्चीसाै स्थापना दिवसको उपलक्ष्यमा वि.सं. २०४७ सालतिर नेपाल टेलिभिजनले राष्ट्रब्यापी अन्तर क्याम्पस हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । यसका सञ्चालका थिए, तेतिबेलाका प्रख्यात टेलिभिजन प्रस्ताेता भूषण दाहाल । (पप गीतकाे कार्यक्रम चलाउने तेतिबेलै celebrity दाहाल, हाजिरी जवाफ प्रतियोगिता पनि चलाउने गर्थे)।

वन विज्ञान अध्ययन संस्थान, हेटाैंडा क्याम्पस, प्रथम वर्षमा अध्ययनरत म र बिनाेद काेइराला अनि द्वितीय वर्षका उदय कँडेल आन्तरिक प्रतिस्पर्धाबाट छानिएका थियौँ । देशब्यापी अन्तर क्याम्पस र विभिन्न चरणमा वर्ष भरी चलेको नेपाल टेलिभिजनबाट प्रशारण हुने उक्त कार्यक्रममा भागलिन माघकाे जाडाेमा पहिलोपटक काठमाडौं आएका थियाै । (काठमाडौं अत्यन्तै रमाइलो, र माघ महिनामा पनि न्यानाे लागेको थियोे?!) । पहिलो राउन्डकाे प्रतियोगितामा भागलिन सिंहदरबार (सायद हालकाे प्रधानमन्त्री कार्यालयका माथिल्लो तलामा) नेपाल टेलिभिजनकाे रेकर्डिङ हुनुभन्दा अगाडि भूँइतलाकाे बँगैचामा हामी सायद ४ वटा विभिन्न क्याम्पसहरुका प्रतियाेगी जम्मा भएका थियौं । (संयाेगले हाल उक्त बगैँचा मेरै वनस्पति विभागले ब्यवस्थापन गर्दछ)।
अन्य क्याम्पसबाट आएका प्रतियाेगी परिपक्व, अनुभवी र माथिल्लो डिग्री (स्नातक, स्नातकोत्तर) पढ्ने बिधार्थीहरु थिए । हामी भर्खरै प्रविणता प्रमाणपत्र तह पढ्न शुरु गरेका जुँगाकाे रेखी बस्दै गरेका विधार्थी थियौ । प्रतियोगिता शुरु हुनु भन्दा अगाडि छलफलमा हाम्रो आलाेकाचाेपनकाे उनीहरू खिज्याए झै लाग्थ्यो । उनीहरु विभिन्न राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता खेलेर जितेको, अघिल्लो वर्ष यस्तै प्रतियोगितामा तेस्रो भएको सुनाएका थिए । हामी (कम्तीमा म आफु) डराएको र भाँगाै भाँगाे लागेको थियो । क्याम्पसले दैनिक भ्रमणभत्ता र खर्च दिएर सहभागी हुन पठाएकोले तेसाे गर्न सकिएन । (सायद क्याम्पसले आफ्नो खर्चमा यसरी बिधार्थी पठाउन हाल छाेडे हाेलान!)।

प्रतियोगिता शुरु हुने बेला भयाे । उदघाेषिता बेञ्जु सराेजले हामीलाई बाेलाउनु भयाे । उहाँ हामी भन्दा सिनियर सराेज लामिछाने दाजुको केटी साथी हुनुहुँदाेरहेछ (हाल विवाहित), तेसैले हामी प्रति सहानुभूति राख्नु भएझै लाग्थ्यो । कार्यक्रम शुरु भयाे । भूषण दाहाल ओझिलाे बाेलिका साथ प्रश्न साेध्न थाल्नु भाे । मुटुको धड्कन बढ्यो । कार्यक्रम अघि बढ्दै गयाे । हामीले राम्रो गर्दै गयाै । सहकक्षी मित्र बिनाेद काेइरालाले चमत्कार गर्नु भाे । हामी धेरै अंक फरकले प्रथम भयाै र अर्को चरणमा प्रवेश गर्याै ।
यस अगाडि हामीलाई कमजोर ठानेका अन्य प्रतिस्पर्धीहरु टेलिभिजनबाट पाइने भत्ता र यातायात खर्च बुझेर कुलेलम ठाेकिसकेछन् । भेट भएन । दाेस्राे चरणमा प्रवेश गरेपछि हामी हेटाैडा फर्कियाै । टेलिभिजनमा अर्को साता प्रशारण हुने भएकोले क्याम्पसमा हाम्रा साथीहरूलाई र टिचरहरुलाई हाम्रो रिजल्ट थाहा थिएन । सायद क्याम्पसका शिक्षकहरुलाई हामी दाेस्राे चरणमा प्रवेश गर्नेमा आशा थिएन ।

हामीले क्याम्पसकाे हलमा संयुक्तरुपमा उक्त प्रशारण हेर्याै । आफ्नो भेषभुषा र आफूलाई टेलिभिजनकाे पर्दामा देख्दा लाज, काैतुहलता र गर्वकाे नजानिदाे मिश्रण अनुभुत भएको थियो ।

यसको केही महिना पछि अर्को चरणकाे प्रतियाेगितामा भाग लिन पुन: हामी काठमाडौ आयाै । यसपटक हामीलाई हेर्ने नजर फरक भइसकेको थियोे । ३-४ वटा क्याम्पसका प्रतियाेगीहरु बीच पुनः हामी प्रथम भएर तेस्रो चरणमा पुगेर फेरि हेटाैंडा फर्कियाै । पुनः टेलिभिजनकाे पर्दामा आफुलाई हेर्याै । भूषण दाहालकाे कडा प्रश्न र हाम्राे टाेलीकाे विशेषतः विनाेद काेइरालाकाे जवाफ अद्वितीय थियाे । यसबेलासम्म हामीले सायद विराटनगरकाे महेन्द्र माेरंग क्याम्पस, विरगञ्जकाे ठाकुरराम बहुमुखी क्याम्पस, रामपुर कृषि क्याम्पस, धरानको फुड टेक्नोलोजी क्याम्पस आदि जस्ता घगडान क्याम्पसहरुलाई पराजित गरिसकेका थियाै ।
केही महिनापछि पुनः तेस्राे चरणको प्रतियोगितामा भाग लिन पुनः काठमाडौं गयाै । यसपटक ४ टाेलीमा दाेस्राे भएर अन्तिम चरणमा प्रवेश गर्न असफल भयाै ।

यसरी, चर्चित प्रत्रकार भुषण दाहाललाई रियलमा र रिलमा (टेलिभिजनको पर्दामा) देख्न थालेको पनि ३३ वर्ष भएछ ।
उनै भूषण दाहालले लिएको अन्तर्वार्ता AP1 ले प्रतिवन्धित गर्याे भन्दा अनाैठाे लाग्यो । हामीलाई नेपाल टेलिभिजनकाे रेकर्डिङ हलमा कठिन प्रश्न साेध्ने उनको याद ताजा भयाे ।
पप गीत चलाउने दाहाल सानातिना हाजिर जवाफ प्रतियोगिता चलाउदै कतिखेर फिल्म निर्देशक र चर्चित टेलिभिजन अन्तर्वार्ताकार भैसक्नु भएछ, पत्तै भएन । समय हिड्ने हाेइन, दाैड्ने रहेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment