आज महाशिवरात्रि, भगवान् शिवको पूजा र महिमा

राजेन्द्र तिवारी

२५ फागुन, काठमाडौँ ।
आज फाल्गुण कृष्ण चतुर्दशी । शुक्रबार हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । आज देशभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरु घुइँचो लाग्ने गर्दछ । आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, भक्तपुरको डोलेश्वर महादेवलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ ।

आज पशुपतिनाथको दर्शन गर्न देशभित्रका श्रद्धालु भक्तजनकासाथै भारतबाट पनि दर्शनार्थीहरु काठमाडौंमा आएका छन् । भारतबाट आएका जोगी, नागा बाबा तथा साधुसन्तका लागि पशुपति क्षेत्र विकास कोषले खाना र बस्नका लागि व्यवस्था मिलाएको छ भने उनीहरू फर्किने समयमा दक्षिणा दिएर बिदाइ गर्ने गने चलन छ ।

।।शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम्।
आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम्॥

साथै आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोलिएका छन् भने दर्शनार्थीलाई लाइनबाट मन्दिरसम्म पुग्ने व्यवस्था मिलाइएको छ । दर्शनार्थीको सहयोगका लागि ठूलो संख्यामा स्वयंसेवक, नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षामा खटिएका छन् भने यस क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ सेवन र बिक्री निषेध गरिएको छ ।

वर्ष दिनभरि १२ वटा शिवरात्रि रहन्छन्

चन्द्र मासको चौधौँ दिन अर्थात् नयाँ चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्रि भनिन्छ, यस अर्थमा वर्ष दिनभरि १२ वटा शिवरात्रि रहनेमा हरेक वर्षको फाल्गुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने शिवरात्रिको आध्यात्मिक अनि सांस्कृतिक महत्त्व अतुलनीय छ । यस रात वैज्ञानिक रूपमै पनि पृथ्वीको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरूमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । शायद यसै कारणले होला यस दिन प्रकृति लेनै मानिसलाई आध्यात्मिक पक्षतर्फ तान्ने विश्वास गरिन्छ । यसै आध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई पनि आज रातभरि जाग्राम बसेर शिवरात्रि मनाइने सांस्कृतिक चलनलाई वैज्ञानिक रूपमा व्याख्या गरिएको पाइन्छ ।

आज पशुपतिनाथको कुम्भ

अझ नेपाल त झन् इतिहासले पनि आफ्नो दस्ताबेजमा समेट्न नसकेको आराध्य देव पशुपतिनाथको देश, विभिन्न पुराण अनि धार्मिक दस्ताबेजमा उल्लेख गरिएको श्लेष्मान्तक वनजस्तो पवित्र चरनभूमी, कैलाशको शीतल छाया परेको भूमि अनि हिन्दुहरूको आस्थाको भूमि । आज पशुपतिनाथमा विशेष घुइँचो रहन्छ, आज पशुपतिनाथको जनसागरलाई एउटा धार्मिक कुम्भको रूपमा व्याख्या गर्न सकिन्छ । साधुहरूको व्यापक उपस्थिति रहन्छ आज पशुपतिमा, विभिन्न कुरामा सिद्धता हासिल गरेका अनि यो हामी बसिरहेको समाजभन्दा परको अध्यात्म अनि संन्यास जीवन व्यतीत गरिरहेका साधुहरू भारत अनि नेपालका विभिन्न भागहरूबाट पशुपतिनाथ दर्शन, भ्रमण कालागि आउने गर्दछन् । फर्कने बेला उनीहरूलाई पशुपति विकास कोषले दक्षिणा अनि भेटी सहित औपचारिक बिदा दिने चलन पनि छ ।

शिवको अर्थ

आजको दिन शिवको वरिपरि घुमेको छ , शिव ती भगवान् जसको आकार छैन, जसलाई आदि र अन्तले विभाजन गर्न सक्दैन, जसको रिसको विध्वंसले संसारका सम्पूर्ण अवयवहरूलाई छिन्नभिन्न गरिदिन सक्छ, ती शिवको विशेष अनि प्रिय दिन हो आज ।

शिव अर्थात् त्यो तत्त्व जुन छ पनि र छैन पनि, आजको आधुनिक विज्ञानले सम्पूर्ण कुराहरू जुन श्रोतबाट आउँछ त्यसैमा विलीन हुन्छन् भनी अणु अनि परमाणु अवयवहरूको प्रमाण खोजिरहँदा भएर पनि नभएका यी भगवान् शिवको अस्तित्वले संसार अनि सृष्टिलाई एउटा दृष्टान्त दिईनै रहेको छ । विज्ञानले धेरै अध्यनपछी संसारका हरेक कुराहरू अनि जीवहरू ब्रह्माण्डका तत्त्वरूपी शक्तिबाट बन्ने र तिनैमा विलीन हुने निष्कर्षमा पुगेको छ, यस ब्रह्माण्डका एउटा शक्तिका अनेक स्वरूपहरूमा हावा, पानी, आगो, आकाश अनि माटो रहेको पञ्चतत्वका रुपमा व्याख्या गरिन्छ । यिनै तत्त्वहरूबाट हामी सबै निर्मित छौँ, ब्रह्माण्डका यी सम्पूर्ण स्वरूपको एउटै श्रोत भगवान् शिव हामी सामु अनेक स्वरूपमा छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment