दुर्गा प्रसाईंका कार्य र अभिव्यक्तिबाट कानुन उल्लंघन, सरकार मूकदर्शक

०७ कार्तिक, काठमाडौं । हरेक नागरिक कानुनद्वारा बाँधिएको हुन्छ। शासकदेखि जनतासम्मलाई यो लागू हुन्छ। तर, पछिल्लो समय दुर्गा प्रसाईंले कतिपय यस्ता कार्य गर्दै आएका छन्, अभिव्यक्ति दिएका छन्, जसले खुलमखुला कानुन उल्लंघन गरेका छन्। तैपनि, सरकार देखेको नदेख्यै गरिरहेको छ। 


  • उदाहरण -१

राष्ट्रिय झन्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ को दफा १५ अनुसार राष्ट्रिय गानको अपमान हुने गरी र असान्दर्भिक तवरले प्रयोग गर्न निषेध गरिएको छ। त्यही कार्यविधिको दफा १७ ले त्यसको अनुगमन र नियमन गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ। 

हालै प्रसाईंले राजाकालीन राष्ट्रिय गान बजाएर कार्यक्रम गरेका छन्। जुन देशको राष्ट्रिय गान माथिको ठूलो अपमान हो। संविधान र कानुनद्वारा बर्जित हो। 


त्यति मात्र होइन, उनका कतिपय अभिव्यक्ति सामाजिक सद्भाव खलबल्याउने, साम्प्रदायिक विद्वेष ल्याउने र अनावश्यक आश्वासनबाटसर्वसाधारणलाई भड्काउने खालका छन्। जस्तो :

  • उदाहरण -२

नेपालमा बर्माबाट खेदिएका मारवाडीहरू १९७० देखि पसेका थिए। यो १६ परिवारले राज गरिसक्यो नेपालीलाई। 
(साम्प्रदायिक अभिव्यक्ति) 


  • उदाहरण -३

…(पार्टी नेताहरूको नाम लिँदै) सबैलाई भारी प¥यो नि ! किनभने, म सत्य हुँ। सत्यसँग नटकराओ साथी हो, टुक्रा–टुक्रा हुन्छौं। 
(हिंसात्मक अभिव्यक्ति)


  • उदाहरण -४ 

ती जम्मै केटी ल्याओस् न, एक–एकवटा घर बनाएर थन्क्याइदिन्छु। मेरा बाउले ७ वटी ल्याएको हो। लु आऊन् त ती महिला, ड्याम कि ड्याम घर किनेर राखिदिन्छु। म …जस्तो पानी मरुवा होइन नि !
(महिला अस्मितामा प्रहार, गैरकानुनी बहुविवाहकको खुला दम्भ)  


  • उदाहरण -५

व्यवस्था परिवर्तन भएको रात तपाईंहरूको २० लाखभन्दा तलको ऋण मिनाहा हुन्छ। भोलिपल्ट उज्यालो हुँदा तपाईंहरू ऋणविहीन भएर आनन्दले घुम्नुहुन्छ। 
(गैरकानुनी आश्वासन) 


राजनीतिक विश्लेषक डा. लोकराज बराल यत्रो संघर्ष र बलिदानबाट ल्याएको लोकतन्त्रलाई संकटमा पार्ने खालका प्रसाईंका क्रियाकलाप आपत्तिजनक रहेको प्रतिक्रिया दिए। 

प्रसाईंले ‘भाइरल’ हुने नाममा सामाजिक सञ्जालमा यस्ता अभिव्यक्ति छरपस्ट पारेका छन्। बरालले जनताका असन्तुष्टिलाई ‘क्यास गरेर’ प्रसाईंले जनतालाई उचालेको उनको भनाइ छ। ‘बैंक, वित्तीय संस्थाको ब्याज मिनाहा गरिदिन्छु भनेर जनताका निराशा र असन्तुष्टिको विषय उठाएकै भरमा राजतन्त्र फर्किला र ? हावादारी कुरा, खै मलाई त त्यस्तो लाग्दैन,’ उनले भने, ‘केही सामाजिक सञ्जालले उचालिदिएका छन्, यसैमा उनी उफ्रिइरहेका छन्।’ यस्ता गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न सरकार बलियो भएर अघि बढ्नुपर्ने उनले सुझाव दिए। 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले दुर्गा प्रसाईंका गैरकानुनी क्रियाकलापको कुनै तुक नभएको बताए। ‘उनको आन्दोलनले न त व्यवस्था ढल्छ, न गणतन्त्र जान्छ, केही हुन्छ जस्तो लाग्दैन’, उनले भने, ‘गणतन्त्र नेताले मात्रै ल्याएको होइन। जनताको ठूलो बलिदानबाट आएको हो। राजालाई त्यतिकै धपाएको होइन। कसैले ल्याउँछु भन्दैमा आइहाल्ने होइन।’ 

प्रसाईंले बैंकबाट लिएको ऋण नतिर्ने बाटो खोज्न आन्दोलन गरेको श्रेष्ठको भनाइ छ। ‘उनले ऋण नर्तिदा जनता डुब्ने हो, जनताले जम्मा गरेको रकम डुब्ने हो’, उनले भने। 

बैंकको ऋण नतिर्न गरेको सार्वजनिक आह्वान आपत्तिजनक र कानुनी राज्यका लागि चुनौतीपूर्ण रहेको श्रेष्ठले बताए। ‘ऋण नतिर्ने भन्ने उनको सार्वजनिक आह्वान आपत्तिजनक छ। नियम कानुन मान्नेले त्यो त्यसलाई ठीक भन्नै सक्दैन’, उनले भने, ‘शान्तिपूर्ण आन्दोलन गर्न पाइने हक छ। तर, अराजक ढंगले प्रस्तुत हुनु हुँदैन। यसमा सरकारले ध्यान दिनुपर्छ।’

‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ का अध्यक्ष मनिराम ज्ञवालीले राजतन्त्रको मुद्दा बोक्ने प्रसाईंबाट वित्तीय अराजकताबाट पीडित जनताले मुक्ति नपाउने ठोकुवा गरे। संघर्ष समितिका संरक्षक अगस्त अधिकारीले आफूहरूको नारा बेचेर प्रसाईंले राजसंस्था ल्याउने आधार बनाउन लागेको भन्दै आक्रोश व्यक्त गरे। आफूहरूले २२ महिनादेखि आन्दोलन गर्दै आएको मुद्दा उठाएर प्रसाईंले संघर्षलाई डाइभर्ट गर्न लागेको उनको भनाइ छ। ‘ठूलो त्याग गरेर सामन्ति राजतन्त्र फाल्यौं। पुनः त्यसैको पुनस्र्थापना गर्न पीडित जनतालाई भ्रमित पार्दै बितन्डा मच्चाउने उनको सपना पूरा हुनै सक्दैन।’

प्रसाईं तत्कालीन एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई घरमा बोलाएर मार्सी चामलको भात खुवाएर चर्चामा आएका थिए। पहिला माओवादीमा आबद्ध उनी त्यसपछि एमाले प्रवेश गरे। अध्यक्ष ओलीका निकट भए। अहिले उनी एमाले त्यागेर ओली र प्रचण्डका खरो विरोधी बनेका छन्। 

उनको अभियान संविधानको आधारभूत चरित्रविरुद्ध छ। संशोधन गर्न नसकिने विषय उनले उठाइरहेका छन्। जुन संविधानमा राजद्रोह कहलिन्छ। उनले आफ्ना कार्यक्रममा संविधानविरुद्ध पुरानो राष्ट्रिय गान बजाइरहेका छन्। राष्ट्रिय गान, राष्ट्रिय झन्डाविरुद्ध लाग्नु भनेको राजद्रोह हो। 

एमाले गलत प्रतिवादमा 

प्रसाईंको आन्दोलनको प्रतिवादमा प्रमुख प्रतिपक्षी एमाले उत्रिएको छ। युवा संघ र त्यसका संस्थापक महेश बस्नेत खुलेर बाहिर आएको छ। दुवै पक्षका कार्यक्रम बिहीबार एक ठाउँ (माइतीघरमण्डला) मा तय गरेपछि सम्भावित मुठभेडलाई ध्यान दिएर प्रशासनले त्यस क्षेत्रलाई निषेध गरेको छ। 

गैरकानुनी हर्कतलाई कानुनी दायरामा ल्याउने दायित्व सरकारको हो। युवा संघले आयोजना गरेको (प्रसाईं विरोधी) सभामा एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले सम्बोधन गर्ने भएका छन्। महेश भर्सेस दुर्गा भइरहेकामा एमाले भर्सेस दुर्गाको अवस्था आएको छ। यसलाई धेरैले आलोचना गरेका छन्। ‘अनावश्यक भाउ दिएको’ भन्नेहरू धेरै छन्। 

गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न सरकार बलियो भएर अघि बढ्नुपर्छ।

– डा. लोकराज बराल, राजनीतिक विश्लेषक 

अन्नपूर्ण



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment