गाजामा अरब राष्ट्रले युद्धविराम माग्दा अमेरिका किन मान्दैन ?

२० कात्तिक, काठमाडौं । अरब राष्ट्रहरुले गाजामा युद्धविरामको पहल गरिरहे पनि अमेरिकाले त्यसलाई अस्वीकार गरिरहेको छ ।

युद्धविरामले हमासलाई सहयोग पुग्ने भन्दै अमेरिकाले अस्वीकार गरिरहेको हो । लेबनान, कतार र जोर्डनका नेताहरुले युद्धविरामको पहल गरिरहेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले ती मुलुकका नेतालाई भेटेर तत्काल युद्धविराम गर्दा हमासलाई सहयोग पुग्ने बताएको बीबीसीले जनाएको छ । तथापि गहिरिँदो

मानवीय संकटलाई मध्यनजर गर्दै केही पहल गर्ने पक्षमा अमेरिका रहेको ब्लिंकेनले बताएका छन् । त्यसका लागि उनी आजै टर्की पुग्दैछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अमेरिकी पहल सफलताउन्मुख भएको बताएका छन् ।

अरब राष्ट्रले तत्कालै युद्धविरामको माग गरिरहेको अवस्थामा अमेरिकाले भने हमास पुनः सक्रिय हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताएको छ ।

अमेरिकी विदेश मन्त्री ब्लिंकेनले जोर्डनको राजधानी अम्मानमा भनेका छन्, ‘निहत्था नागरिक बचाउका लागि यो निर्णय निकै महत्वपूर्ण रहेकोमा अमेरिका जानकार छ । यसले विदेशी नागरिकलाई त्यहाँबाट बाहिर ल्याउन पनि मद्दत पुग्छ नै । तर तत्काल युद्धविराम गर्दा हमास फेरि संगठित र सक्रिय हुने खतरा अझै छ ।’

युद्धविरामको निर्णयले हमासलाई सखाप पार्ने इजरायली योजनामा पनि असर पुग्ने भएकाले निकै संवेदनशील र सतर्क भएर निर्णय लिनुपर्ने अवस्था रहेको भनेर ब्लिंकेनले भनेको अलजजिराले लेखेको छ ।

युद्धविरामको माग र दबाब बढ्दै जाँदा इजरायली फौजले गाजामा हमला तीव्र पारेको छ । शनिबार गाजाबाट अन्यत्र जान चाहनेका लागि ३ घण्टाको समय दिइए पनि हमासले रोकेको आरोप इजरायली फौजले लगाएको छ ।

गाजाबाट १० लाख ५० हजार मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले बताएको छ । तीमध्ये ७ लाख मानिस राष्ट्रसंघको आवास क्षेत्रमा छन् । राष्ट्रसंघले आवास क्षेत्र खचाखच भएको र त्यहाँ स्वास्थ्य संकट आउन सक्ने चेतावनी दिएको छ ।

इजिप्ट जान मिल्ने राफ क्षेत्रमा विदेश नागरिकलाई प्रवेश गर्न दिइएको छैन । हमासले घाइतेहरुलाई मात्रै त्यस क्षेत्रबाट इजिप्ट पठाउने गरेको बीबीसीले उल्लेख गरेको छ ।

गत साता टर्कीका राष्ट्रपति रिसेप तइप एर्दोआनले हमास मुक्ति समूह रहेको भन्दै इजरायलले हमासमाथि युद्ध अपराध मच्चाएको बताएका थिए । त्यहीँ पुगेर अमेरिकाले जटिल मानवीय संकटलाई मध्यनजगर गर्दै माग भइरहेको युद्धविरामका लागि कूटनीतिक थालनी गर्न लागेको हो ।

अमेरिकाले इजरायलको सैन्य आक्रमणलाई ‘आत्मरक्षा’ भनेको छ भने अरब मुलुकहरुले त्यसलाई ‘अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र युद्धअपराध’ भनेका छन् ।

अन्तर्राष्ट्रिय कानुन विपरीत इजरायलले ‘सामूहिक दण्ड’ दिइरहेको उनीहरुको भनाइ छ ।

जोर्डनका उपप्रधानमन्त्री अयमन शफादीले इजरायलमा हमासको आक्रमण निन्दनीय भन्दै इजरायलको कारबाहीलाई युद्धअपराध भनेका छन् । ‘इजरायली हमलाले समग्र अरबका भावी पुस्तालाई घृणाको दलदलमा फसाउन खोज्दै छ । अरब क्षेत्रको शान्ति र स्थायित्वमा समेत असर पर्नेगरी इजरायलले मच्चाएको सामूहिक दण्डलाई कुनैपनि हिसाबले आत्मरक्षा भन्न मिल्दैन,’ उनले भनेका छन् ।

यस्तै इजिप्टका विदेशमन्त्री समेह शुक्रीले इजरायलले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेकाले यसबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् । ‘वर्तमान परिस्थितिमा संयुक्त राष्ट्रसंघले कुनै पहलकदमी नलिँदा हामी स्तब्ध छौं । अन्तर्राष्ट्रिय कानुन मिचेर इजरायलले जटिल मानवीय संकट निम्त्याएकोप्रति निष्पक्ष अनुसन्धान हुनैपर्छ,’ उनको भनाइ उद्धृत गर्दै अलजजिराले लेखेको छ ।

अरब क्षेत्रमा संकट निम्तिँदा समेत अमेरिकाले कुनै पहलकदमी नलिएको भन्दै आलोचना बढ्दै गएपछि विदेशमन्त्री ब्लिंकेन जोर्डन पुगेर अरब मुलुकका नेताहरुसँग संवाद गरेका हुन् । अरबमा अमेरिकी प्रभाव यथावत राख्ने हो भने वर्तमान संकट समाधानका लागि उनले तत्कालै नयाँ रणनीति अपनाउनुपर्ने माग त्यस क्षेत्रका नेताहरुले गरेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment