रद्द भएको अन्तरिक्ष स्टेशन जाने स्टारलाइनरको प्रक्षेपण शुक्रवार हुने

२७ बैशाख, काठमाडौँ । चालक दल सहित फ्लोरिडाको केप म्याभेरलबाट सोमवार गर्ने तय भएको बोइङको स्टारलाइनरको परीक्षण उडान रद्द भएपछि शुक्रवार पुनः प्रक्षेपणको प्रयास गरिने भएको छ ।

अन्तरिक्षयान निर्माता कम्पनी बोइङले एउटा सोसल मिडिया पोस्टमा शुक्रवार प्रक्षेपणको नयाँ प्रयत्न हुनसक्ने जनाएको हो ।
स्थानीय समय अनुसार सोमवार १०ः३४ बजे ‘लिफ्ट अफ’ निर्धारण गरिएकोमा सुरक्षा सम्बन्धी समस्या देखिएका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।

अमेरिकी अन्तरिक्ष निकाय नासाका दुई जना अन्तरिक्ष यात्री नयाँ अन्तरिक्ष यानमा लिएर सोमवार प्रक्षेपणका लागि तयार गरिएको थियो । यानमा सुरक्षा समस्या देखिएपछि अन्तिम समयमा स्थगित गरिएको थियो ।

शुक्रवारको प्रयास सफल भएमा पृथ्वीबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) तिर उडान गर्ने बोइङ दोस्रो निजी कम्पनी बन्ने बताइएको छ । अहिलेसम्म मस्कको स्पेस एक्सले मात्रै त्यस्तो काम गर्दै आएको छ ।

स्टारलाइनर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र अन्य कम दूरीका गन्तव्यहरूमा चालक दललाई ढुवानी गर्न बनाइएका दुई आंशिक रूपमा पुनः प्रयोज्य अन्तरिक्ष यानहरूको वर्ग हो ।



यो बोइङले नासाको व्यावसायिक कार्यक्रमसँग ‘एङ्कर’ ग्राहकको रूपमा निर्माण गरेको हो । अमेरिकी बहुराष्ट्रिय कम्पनी बोइङले हवाइजहाज, रोटरक्राफ्ट, रकेट, स्याटेलाइट र मिसाइल डिजाइन, निर्माण र बिक्री गर्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment