सीईओ रेग्मीविरुद्ध उत्रिए पर्यटन बाेर्डका कर्मचारी, ६० लाखकाे सम्मेलन विवाद के हाे ?

३० असाेज, काठमाडाैं । नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीविरुद्ध बोर्डकै कर्मचारीहरू विरोधमा उत्रेका छन् । बोर्डका गतिविधिहरूमा मनोमानी गरेको भन्दै सीईओ रेग्मीविरुद्ध कर्मचारीहरू विरोधमा उत्रेका हुन् ।

रेग्मीको रोजाईमा केही दिनअघि पोखरामा भूगोलविद्हरूको दुईदिने सम्मेलन आयोजना गरिएको थियो । तर, करिब ६० लाख रुपैयाँ खर्च गरेर आयोजना गरिएको सो सम्मेलनको उपादेयीता शून्य रहेको भन्दै कर्मचारीहरूले विराेध गरेका हुन् ।

उनीहरूले सीईओ रेग्मीको हैकमविरुद्ध वक्तव्य निकालेका छन् । नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले निकालेको वक्तव्यमा भुगोलविद्हरूको वैज्ञानिक सम्मेलनलाई आयोजना गर्न जोड गर्ने बोर्ड व्यवस्थापन नेतृत्वको कार्य भत्र्सनालायक रहेको उल्लेख छ ।

‘हाल मुलुकमा देखा पर्दै गरेको आर्थिक क्षेत्रको कमजोरीलाई धेरै हदसम्म दरिलो टेवा दिने क्षेत्रको रूपमा सरकारले समेत पहिचान गरेको पर्यटन क्षेत्रको प्रवर्द्धन र नेपालको पर्यटनको बजारीकरणको विशेष महत्व बोकेका अन्य कार्यक्रमहरूमा नेपालको सहभागिता सुनिश्चित गर्नुको सट्टा पर्यटन व्यसयीहरूको सहभागिता नै हुन नसक्ने, नेपाल भ्रमणको प्याकेज सोकेशिंग गर्ने अवसर नै नदिएको भुगोलविद्हरूको वैज्ञानिक सम्मेलनलाई आयोजना गर्न जोड गर्ने बोर्ड व्यवस्थापन नेतृत्वको कार्य भत्र्सनालायक रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

संगठनले बोर्डको मूल उद्देश्य अनुरुपका काममा मात्र समय र अर्थ खर्च गर्न अनुरोध गर्दै अन्यथा जोकोहीकाविरुद्ध उभिने चेतावनीसमेत दिएकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment