शंकरपुर तालको रकम हिनामिनाको आरोपमा वडाअध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर

०१ भदाै, काठमाडौं । कपिलवस्तुको शंकरपुर तालको रकम हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्षसहित ३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विजयपुर गाउँपालिका ४ (साविक पत्थरदेइया गाउँ विकास समिति वडा ८) का वडा अध्यक्ष तिलकराम कँडेलसहित गाविस सचिव कृष्ण कुमार चौधरी र ठेकेदार सेराज महम्मदविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

वडाअध्यक्ष कँडेलले शंकरपुर ताल ठेक्काको ६ लाख १० हजार रुपैयाँ ठेकेदारबाट लिई उक्त रकम गाउँपालिकालाई नबुझाइ हिनामिना गरेको आरोप लागेको छ।

यसैगरी पत्थरदेईया गाउँ विकास समितिको कार्यालयका तत्कालीन गाविस सचिव चौधरीले ठेकेदार महम्मदसँग भएको सम्झौताबमोजिमको २ लाख ७० हजार रुपैयाँ हालसम्म पनि गाउँपालिकाको खातामा जम्मा नगरेकाले उनलाई पनि अख्तिायारले प्रतिवादी बनाएको छ।

उक्त रकम दाखिला नभएपछि अख्तियारले ठेकेदार महम्मदविरुद्ध पनि मुद्दा चलाएको छ। महम्मदले तालको ठेक्का सम्झौताको बुझाउन बाँकी रकम २ लाख ७० हजार रुपैयाँ दाखिला नगरी ठेक्का सम्झौता अनुसारको शर्त पालना नगरी नेपाल सरकारलाई गैरकानूनी हानी पुर्‍याउने बदनियतपूर्ण कााम गरेको ठहर अख्तियारको छ।

उनीहरूविरुद्ध अख्तियारले शुक्रबार जरिवाना र बिगोसमेत जफतको सजाय हुन मागदावी गरी आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment