हलिउड कलाकार पनि आन्दोलनमा, शुक्रबारसम्म सहमति नभए हड्ताल गर्ने चेतावनी

१४ असार, काठमाडौं । हलिउडमा लेखकहरुको हड्ताल जारी रहँदा मेरिल स्ट्रिप र जेनिफर लरेन्स लगायत ३०० भन्दा बढी ए–लिस्टर कलाकारले पनि स्टुडियोविरुद्ध हड्ताल गर्ने चेतावनी दिएका छन् । उनीहरु आबद्ध कलाकार संस्था स्क्रिन एक्टर्स गिल्डले यस्तो चेतावनी दिएको हो ।

कलाकारले उच्च न्यूनतम तलब, स्ट्रिमिङमा फाइदा भएअनुसार सुविधा, पेन्सन र कास्टिङ प्रक्रियामा व्यक्तिगत टेपहरुको प्रयोग लगायतका माग राख्दै जुन ३० सम्म नयाँ सम्झौताका लागि स्टुडियोलाई आग्रहसहितको चेतावनी दिइरहेका छन् ।

‘हामी आशा गर्छौं कि तपाईंले हाम्रो सन्देश सुन्नुभएको छ । हाम्रो उद्योगमा यो अभूतपूर्व परिवर्तन बिन्दु हो । आगामी वर्षमा के राम्रो गर्न सकिन्छ भनेर सम्झौता गर्नुलाई पर्याप्त मान्न सकिंदैन,’ सागको नेतृत्व र सम्झौता प्रक्रियामा सामेल स्टुडियोका प्रतिनिधिद्वारा जारी नोटमा भनिएको छ, ‘हामीले हाम्रो ज्याला, हाम्रो शिल्प, हाम्रो रचनात्मक स्वतन्त्रता र हाम्रो संघको शक्ति सबै कुरा बितेको दशकमा कमजोर भएको महसुस गरेका छौं । अब ती प्रक्षेपणलाई उल्ट्याउन आवश्यक छ ।’

पत्रमा हस्ताक्षर गर्ने र हड्ताल गर्न सहमति जनाएका अन्य ए–लिस्टर कलाकारमा रामी मालेक, क्विन्टा ब्रन्सन, जुलिया लुइस–ड्रेफस, बेन स्टिलर, नील प्याट्रिक ह्यारिस, एमी शमुर र एमी पोहेलर समावेश छन् ।

उक्त पत्रमा कलाकारले फिल्म उद्योगमा कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोगप्रति पनि चासो राखेका छन् । यसमा लेखिएको छ, ‘हामी विश्वास गर्दैनौं कि हाम्रा सदस्यले तीन वर्षमा थप सुविधा पाउने आशामा सम्झौता गर्नेछन् । हामीलाई लाग्छ यो वार्तालापले हाम्रो समानतालाई मात्र सुरक्षित गर्दैन, यो कुरा एकदम महत्वपूर्ण छ । एआईलाई तालिम दिइँदा हामीलाई हाम्रो कामप्रति क्षतिपूर्ति दिइने कुरा सुनिश्चित हुनु आवश्यक छ ।’

पत्रको निष्कर्षमा भनिएको छ, ‘हामी यो जान्न चाहन्छौं कि हामी यी आधारभूत बुँदाहरूमा सम्झौता गर्नुको सट्टा हड्तालमा जान चाहन्छौं । यदि हामीले आफ्ना मुद्दामा सम्झौता गर्‍यौं भने यसले हाम्रो संघको भविष्य र हाम्रो शिल्पलाई कमजोर तुल्याउनेछ ।’



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment