सुनको भाउ बजेट भाषण पश्चात ४ हजार ४०० रुपैयाँले बढ्यो

१८ जेठ, काठमाडाैं । सुनको भाउ जेठ १८ गते बिहीबार तोलामा ५०० रुपैयाँले पुनः नयाँ रेकर्ड बिन्दुमा पुगेको छ । बुधबार तोलामा १ हजार ५०० रुपैयाँले बढ्दै कायम भएको नयाँ रेकर्ड भोलिपल्टै थप बढेर तोडिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको भाउ १ लाख १२ हजार ५०० रुपैयाँ तथा तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन बुधबार १ हजार ५०० रुपैयाँले बढेर छापावाल सुन १ लाख १२ हजार रुपैयाँ तथा तेजावी सुन १ लाख ११ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

लगातार ५ दिन गिरावट आएको सुनको भाउ सरकारले आर्थिक ऐन २०८० मार्फत सुनको भन्सार दर ४ हजार २५० रुपैयाँले बढाएपछि वृद्धि हुँदै आएको छ । सरकारले बजेट मार्फत भन्सार दर बढाएसँगै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो । व्यवसायीहरुले यसअघि प्रति दशग्राम सुनमा ८ हजार ५०० रुपैयाँ भन्सार दर तिर्दै आएकोमा बजेट पश्चात १२ हजार ७५० रुपैयाँ पुर्याएको छ । सुनको भाउ वृद्धिलाई भन्सार दर मात्र नभई अन्तर्राष्ट्रिय बजारमा वृद्धि भएको मूल्यले पनि साथ दिँदै आएको छ । बजेटपछि सुनको भाउ १६ गते २ हजार ४०० रुपैयाँ, बुधबार १ हजार ५०० र बिहीबार ५०० रुपैयाँ गरी कुल ४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो ।

बजेटका नयाँ व्यवस्थाप्रति सुनचाँदी ब्यवसायी असन्तुष्ट, नियन्त्रणमुखी र विभेदकारी भएको निश्कर्ष

यसअघि २०८० बैशाख २१ गते सुनको भाउ अधिकतम १ लाख ११ हजार ८०० रुपैयाँसम्म पुगेर रेकर्ड थियो । उक्त रेकर्ड जेठ १७ गते १ लाख १२ हजार र १८ गते १ लाख १२ हजार ५०० रुपैयाँ पुग्दै तोडिएको हो । सुनको भाउमा एक महिना नपुग्दै तीनवटा रेकर्ड कायम भएको छ ।

यस्तै सरकारले विदेशबाट फर्किएका पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने व्यवस्था गरेको छ । महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ । विगतमा विदेशबाट फर्कने यात्रुले ५० ग्राम भन्दा माथि सुन ल्याउदा मात्र कर तिर्नुपर्ने व्यवस्था थियो ।

यता चाँदीको भाउ पनि हिजो बुधबारको तुलनामा १५ रुपैयाँले बढेको छ । आजका लागि चाँदीको भाउ १ हजार ४१० रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदीको भाउमा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६४ डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔँस २३ रुपैयाँ ५१ डलरमा कारोबार भइरहेको छ । हिजो अन्तर्राष्ट्रिय बजारमासुन प्रतिऔँस १ हजार ९६३ डलर तथा चाँदी २३ रुपैयाँ ३१ डलरमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverNewsPolitic
Comments (0)
Add Comment