रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेजीको मागसहितको रिट निवेदन सर्वोच्च अदालतमा फेरि दर्ता भएको छ । लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गरिपाउँ भनेर युवराज पौडेलले पेस गर्नुभएको रिट निवेदन दर्ता भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले आज बुधवार दर्ता गर्दै जेठ १७ गते पेसी तोकेको छ । रिटमा लामिछानेको प्रतिनिधि सभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ ।

लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा पुरानै नागरिकताको प्रतिलिपिमात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराउनुभएको अदालतका प्रवक्ता पौडेलले बताउनुभयो । यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि उहाँको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो । पुरानो नागरिकता फेरि लिएपछि उहाँ उप–चुनावबाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनुभएको छ ।

अमेरिकी नागरिकता त्याग गरेपछि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतले ठहर गरेपछि गएको माघमा उहाँले पुनः आफ्नो पुरानो नेपाली नागरिकता बिउँताउनुभएको थियो । पौडेलले नै यसअघि पनि लामिछानेविरुद्ध उहाँले नेपाली नागरिकता पुनः प्राप्ति नगरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment