तरकारी खेतीबाटै करोडौँको मालिक

०१ जेठ, काठमाडाैं । सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८०० बोट लगाएका छन् ।

लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख रुपैयाँ बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् । एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाइ छ ।

दैनिक तीन\चार क्विन्टल टमाटर बेचिरहेका उनको टमाटरले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी ४० देखि ५० सम्म थोक मूल्यमा टमाटरका साथै रु तरकारी पनि दैनिक १० हजार रुपैयाँका तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहेका छन् ।

बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा १५\१६ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ । उनले गरेको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ ।

बञ्जाडेले भने, “अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर इष्या गर्थे तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।”

पचास वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक हुन् । सामान्य परिवारका जन्मिएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो । जागिरभन्दा उत्पादनमुलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाएका हुन् ।

उनले भने, “गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेतीको सुरुआत गरिरहेका उनलाई पाँच करोड रुपैयाँभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ ।

तरकारीबाट वर्षमा १० लाख रुपैयाँ सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाएका बञ्जाडेले तीन करोडभन्दा बढीको घर र घडेरी जोडिसकेका छन् । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment