दयाहाङ राई अभिनित ‘नीरफूल’को ट्रेलर रिलिज

३० बैशाख, काठमाडौँ ।आउँदो जेठ २६ गतेबाट देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको फिल्म कोरोना-लकडाउनको बेला हलहरु बन्द भएपछि रिलिज रोकिएको थियो ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनित फिल्मको निर्देशन लेखक तथा संचारकर्मी फूलमान वलले गरेका हुन् ।

आज सार्वजनिक भएको ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्दार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्ष देखाइएको छ ।

धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौंमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् । नेपाल-म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment