आइपीओको तयारीमा रहेको बन्दीपुर केवलकारको निर्माण लागत २ अर्ब ६७ करोड नाघ्यो, एक अर्ब ऋण लिदैं

२८ वैशाख, काठमाडाैं । आइपीओ निष्काशन गर्ने तयारीमा रहेको बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले केवलकार तथा होटल निर्माणका लागि १ अर्ब २ करोड ऋण लिने भएको छ।

एक अर्ब दुई करोड बराबरको कर्जाका लागि रेटिङ एजेन्सी केयर नेपालले कम्पनीलाई ‘डबल बी’ रेटिङ प्रदान गरेको हो । नेपालको प्रख्यात पर्यटकीय स्थल बन्दीपुरमा केवलकार तथा पाँच तारे होटल निर्माण गर्दै गरेको कम्पनीले निर्माणका क्रममा लागत खर्च जुटाउनका लागि उक्त कर्जा लिएको कम्पनीले जनाएको छ।

कम्पनीले दुई चरणमा बन्दीपुरमा केवलकार र पाँच तारे होटल निर्माण गर्ने उद्देश्य राखेको छ । सन् २०२३ को मार्च महिनासम्म केवलकार तथा होटलको वित्तीय प्रगति ६३.५० प्रतिशत भएको छ । केवलकार निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने होटलको भवन निर्माण भइसकेता पनि इन्टेरियर डिजाइन बाँकी रहेको छ।

यो परियोजनाको प्रारम्भिक निर्माण खर्च १ अर्ब ६६ करोड ९० लाख रहने अनुमान गरिएको थियो । तथापि सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कारोना महामारीले सिर्जना गरेको माग र आपूर्ति बीचको खाडल र रुस–युक्रेन युद्धले बढाएको मुद्रास्फीतिका कारण भवन तथा केवलकार निर्माणका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण निर्माण लागत बढेर २ अर्ब ६७ करोड ३० लाख पुगेको छ ।

केवलकार तथा होटल निर्माणका लागि आवश्यक पर्ने ३९ प्रतिशत रकम कर्जा रहेको छ भने ६१ प्रतिशत लगानीकर्ताहरुले लगानी गरेका छन् । परियोजनाको निर्माण लागतमा भएको वृद्धिका कारण कम्पनीको वित्तीय अवस्था पछि कस्तो रहला भन्नेमा प्रश्न सिर्जना भएको छ ।

तथापि पोखरा र काठमाडौँ बीचमा रहेको पर्यटकीय स्थल बन्दीपुरमा १८औँ शताब्दी देखि संरक्षण गरिएको कलात्मक घर तथा काष्ठकला, चित्रकलाका कारण आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आएको छ ।

साथै रामकोट गाउँ तथा सिद्ध गुफासम्म पदयात्रा गर्न इच्चुक व्यक्तिहरु पनि बन्दीपुरबाट नै आवतजावत गर्ने गर्छन् । जसकारण कम्पनीको आम्दानी दीर्घकालीन रुपमा बढ्ने देखिन्छ ।

कम्पनीमा ५ संस्थागत सेयरहोल्डर र केही व्यक्तिहरुको लगानी रहेको छ । कम्पनीका अध्यक्ष रियल स्टेट, फाइनान्स लगायतका क्षेत्रमा एक दशक बढीको अनुभव बटुलेका रामचन्द्र शर्मा रहेका छन् ।

कम्पनीले १०० रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता बराबरको साधारण सेयर निष्काशनको तयारीमा रहेको छ । कम्पनीले चुक्ता पुँजीको २ प्रतिशत अर्थात ४ करोड ३० लाख रुपैयाँ बराबरको सेयर परियोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दालाई र १० प्रतिशत अर्थात २१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणहरुको लागि छुट्टाएको छ ।

आइपीओ जारी गर्न कम्पनीले नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धीतोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त समेत गरेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment