हायर पर्चेस कम्पनी ओम्नीको आम्दानीमा गिरावट आएसँगै रेटिङ घट्यो

१५ चैत, काठमाडाैं । ओम्नी ग्रुपको प्रमुख कम्पनी–ओम्नी प्रालिको आम्दानी सन् २०२२ मा घटेको छ ।

सन् २०२१ मा ३३ करोड आम्दानी गरेको कम्पनीले सन् २०२२ मा आम्दानी घटेर ३२ करोड ५० लाख पुगेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको आम्दानी ५० लाखले घटेको हो ।

सन् १९९१ मा स्थापना भएको ओम्नी प्रालि हायर पर्चेस कम्पनी हो । कम्पनी मार्फत ओम्नी ग्रुपले भाताबेन्चका सवारी साधन, एपोलो टायर, स्वाराज ट्रयाक्टरहरुको बिक्री गर्दै आइरहेको छ ।

सन् २०२२ मा कम्पनीको नेटवर्थ ८३ करोड ७० लाख रहेको छ । यस अघि सन् २०२१ मा कम्पनीको नेटवर्थ ९९ करोड ५० लाख रहेको थियो । सन् २०२२ मा कम्पनीको नेटवर्थमा समेत गिरावट आएको छ । कम्पनीको कुल व्यवस्थित पोर्टफोलियो २ अर्ब ६९ करोड रहेको छ ।

सन् २०२२को अक्टोबर महिनामा ३ अर्ब ६७ करोड अल्पकालीन तथा दीर्घकालीन बैंकिङ कर्जाका लागि ओम्नी प्रालिले रेटिङ एजेन्सी इक्रा नेपालबाट डबल बी माइन्स र ए४ रेटिङ पाएको थियो । उक्त समयमा ओम्नी प्रालिले रेटिङ कार्यमा सहकार्य नगरेको र बारम्बार सम्पर्क गर्दा पनि आवश्यक डाटा उपलब्ध नगराएका कारण इक्राले कम्पनीलाई “इस्स्युअर नट कोअपरेटिङ” अन्तर्गतका कम्पनीहरुमा वर्र्गीकरण गरेको थियो ।

तथापि कम्पनीले २ अर्ब ९५ करोड ५० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ पुनपुष्टि गराएको छ ।

२ अर्ब १४ करोड बराबरको दीर्घकालीन कर्जाका लागि इक्राले कम्पनीलाई यस अघि दिएको ‘डबल बी माइन्स’ रेटिङ घटुवा गरी ‘डी’ रेटिङ दिएको छ ।

यस्तै ८१ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि पनि एजेन्सीले ‘ए४’ रेटिङ घटाई ‘डी’ रेटिङ गरेको छ । कम्पनीले रेटिङका लागि आवश्यक जानकारी दिएपछि “इस्स्युअर नट कोअपरेटिङ” को सूचीबाट भने कम्पनीलाई हटाएको छ । ‘डी’ रेटिङ पाएका कम्पनीहरुमा लगानी गर्दा वा ऋण दिँदा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

बीरगंजको आदर्शनगरमा रहेको ओम्नी प्रालिका तीन प्रमोटर रहेका छन् । कम्पनीमा आत्मराम काब्राको ४५ प्रतिशत, हरि नारायण काब्राको ४५ प्रतिशत र सन्दिप कुमार मोहताको १० प्रतिशत लगानी रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepal
Comments (0)
Add Comment