विश्व अर्थतन्त्र थप संकट उन्मुख, विश्वव्यापी आर्थिक वृद्धि दर ३ दशक यताकै सुस्त हुने प्रक्षेपण

१४ चैत, काठमाडाैं । रुस–युक्रेनबीच जारी युद्धका कारण मुद्रास्फीति आकाशिएको समयमा अमेरिका र युरोपका ३ बैंक टाट पल्टिएपछि त्यसको गहिरो प्रभाव विश्व अर्थतन्त्रमा पर्ने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले कोभिड–१९ महामारी संक्रमण पछिको दशक अर्थात् सन् २०२१–२०३० सम्ममा विश्वव्यापी आर्थिक वृद्धि दर ३ दशक यताकै सुस्त हुने प्रक्षेपण गरेको छ।

एकपछि अर्को गर्दै निम्तिएका वित्तीय तथा आर्थिक संकटले विश्वका साना अर्थतन्त्र मात्र नभई शक्तिशाली देशहरुमा समेत असर पु¥याउने विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । कोभिड–१९ संक्रमणका कारण सिर्जना भएको आपूर्ति श्रृङ्खला अवरोधको समस्या समाधान नहुँदै रुसले युक्रेनमा हमला सुरु गरेपछि विश्वव्यापी रुपमा खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

यस्तै हालै अमेरिकाको सिलिकन भ्याली र सिग्नेचर बैंक तथा युरोपको क्रडिट स्वीस बैंक डुबेपछि वित्तीय संकट उत्पन्न भएको छ । सन् १९९० बाट विश्वव्यापी रुपमा देशहरुको आर्थिक वृद्धि दर, आम्दानी दर बढ्दै गएको थियो भने मुद्रास्फीति दर घटेको थियो ।

सन् १९९० देखि २०२० सम्मको अवधिमा विभिन्न निम्य आय भएका देशहरु मध्यम आय भएका देशहरुमा परिणत भएका छन् भने मध्यम आय भएका देशहरु उच्च आय हुने देशहरुको सूचीमा परेका छन् । तथापि वर्तमान अवस्थामा विश्वव्यापी रुपमा देखिएका वित्तीय तथा आर्थिक झड्काहरुबाट विकासशील तथा विकसीत दुवै राष्ट्रहरु समस्यामा पर्ने विश्व बैंकले स्पष्ट पारेको छ ।

जलवायु परिवर्तनले कृषि उत्पादकत्व घटाउँदै लगेको छ भने विश्वका शक्तिशाली राष्ट्रहरुमा जेष्ठ नागरिकको जनसङ्ख्या धेरै हुँदा यी राष्ट्रहरुमा श्रम अभावको समस्या देखिएको छ । सन् १९९० देखि सन् २०११ सम्म विश्वव्यापी रुपमा देशहरुको आर्थिक वृद्धि दर आकाशिएको थियो । सन् २०००–२०१०को समयमा विश्वको औसत आर्थिक वृद्धि दर ६ प्रतिशत रहेको थियो ।

यस्तै २०११–२०२१ सम्ममा विश्वको आर्थिक वृद्धि दर ५ प्रतिशत थियो । तथापि २०२१ देखि २०३०को समयमा विश्वको आर्थिक वृद्धि दर २.२ प्रतिशत मात्रै रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । सन् २०११–२१को तुलनामा विश्वव्यापी रुपमा देशहरुको आर्थिक वृद्धि दर २.६ प्रतिशतले खुम्चिएको हो ।

आर्थिक वृद्धि दर बढाउनका लागि विश्व बैंकले दिगो परियोजनाहरुमा लगानी बढाउन, वित्तीय र मौद्रिक नीतिलाई सँगसागै बढाउन, अन्तराष्ट्रिय व्यापारमा ढुवानी, लोजिस्टीक्स लगायतका मूल्य कटौती गर्न, सेवाक्षेत्रमा पुँजी बढाउन र विश्वव्यापी समन्वय सुदृढ गर्न सुझाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment