रुस-युक्रेन युद्धको बाछिटा: चीनका राष्ट्रपति रुसमा, जापानका प्रधानमन्त्री युक्रेनमा

०८ चैत, काठमाडौं । रुस र युक्रेनबीच चलिरहेको युद्धको बाछिटा एसियामा कसरी गुन्जिरहेको छ भन्ने बुझ्न चीन र जापानका शीर्ष नेतृत्वको भ्रमणलाई हेर्न सकिन्छ। यतिखेर चिनियाँ राष्ट्रपति सी चिनफिङ मस्कोमा छन् भने जापानका प्रधानमन्त्री फुमियो किशिदा युक्रेनको राजधानी किभमा छन्।

यी दुवै नेता कूटनीतिक विदेश भ्रमणमा छन् र युद्धको विपक्षी केन्द्रमा छन्।

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीसँगको भेटमा प्रधानमन्त्री किशिदाले युद्धग्रस्त युक्रेनलाई सहयोग तथा पुनर्निर्माण र मानवीय राहत कार्यमा सहयोग गर्ने आश्वासन दिएका थिए।

यता, मस्कोमा रहेका सीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो नजिकको मित्र र सहयोगी भनेका छन्। चीनले ती देशको युद्धमा आफू तटस्थ रहेको दाबी गर्दै आए पनि पुटिनको उक्त स्पष्टोक्तिमा कुनै प्रतिबाद नगरेर आफू रुसतर्फ झुकेको संदेश दिएको देखिन्छ।

राष्ट्रपति सीले मंगलबार चीनले रुससँगको सम्बन्धलाई प्राथमिकता दिने बताउँदै दुवै देशलाई ‘महान छिमेकी शक्ति’ भनेका छन्।

मस्कोका घटनाहरू हेर्दा, किशिदाको समानान्तर किभको यात्राको समय आफैंमा महत्त्वपूर्ण रहेको विश्लेषकहरु बताउँछन्।

अन्त्यहीन हुँदै गएको युद्धको बीचमा भएको यो उच्च तहको भ्रमणको अर्थ के हो?

जापानी प्रधानमन्त्री अघोषित विदेश भ्रमणमा जानु विरलै हो र दोस्रो विश्वयुद्धपछि जापानका धेरै नेता युद्धग्रस्त मुलुक पुगेका यो पहिलो पटक हो। किशिदा मंगलबार किभ नपुगेसम्म उनको भ्रमण गोप्य राखिएको थियो। सुरक्षाका कारणले यस्तो गरिएको अधिकारीहरुले दावी गरेका छन्।

प्रधानमन्त्री किशिदाले युक्रेनका जनताको धैर्यता र साहसप्रति सम्मान व्यक्त गर्दै आफ्नो देशको सुरक्षाका लागि खडा भएका यी जनताप्रति आफ्नो निस्वार्थ समर्थन व्यक्त गर्ने जापानको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

विज्ञप्तिमा किशिदाले रुसले युक्रेनलाई आक्रमण गरी वर्तमान परिस्थितिलाई एकतर्फी रूपमा परिवर्तन गर्ने प्रयासको विरोध पनि गर्ने बताइएको छ।

प्रधानमन्त्री किशिदालाई आफ्नै सत्तारुढ लेबर डेमोक्र्याटिक पार्टीबाट युद्धग्रस्त युक्रेन भ्रमण गर्न दबाब बढिरहेको थियो।

किशिदा जी–७ का एक मात्र नेता थिए जसले युक्रेनको भ्रमण गरेका थिएनन्। मे महिनामा हिरोसिमामा हुने जी–७ शिखर सम्मेलन अघि युक्रेन जान पनि उनीमाथि दबाब बढाइएको थियो।

किशिदाले गत हप्ता मात्रै टोकियोमा दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेर ठूलो कूटनीतिक सफलता हासिल गरेका थिए। जापान र दक्षिण कोरियाका नेताबीच एक दशकभन्दा बढी अवधिमा पहिलो पटक द्विपक्षीय भेटवार्ता भएको हो।

दक्षिण कोरियासँगको सम्बन्धलाई सामान्य बनाउँदै, गुप्तचर आदानप्रदानले जापान उत्तर कोरियाविरुद्धको आफ्नो प्रतिबद्धतामा अमेरिकाको साथमा रहेको देखाएको छ। उनको युक्रेन भ्रमणलाई अमेरिकाले स्वागत गर्नेछ भन्नेमा कुनै शंका नरहेको विश्लेषकहरु बताउँछन्।

यता मस्को पुगेका चिनियाँ राष्ट्रपति सीको भ्रमणको उद्देश्य विश्व स्तरमा चीनको प्रभाव बढाउनु रहेको देखिन्छ।

एकै समयमा युक्रेनमा जापानी नेताको उपस्थितिले भूराजनीतिक उथलपुथलको यस अवधिमा दुई देशहरू कहाँ खडा छन् भन्ने बलियो संकेत दिन्छ।

जापान र चीनबीच राजनीतिक सन्तुलन नरहेको अवस्थामा समान्तर भ्रमण रहेकोले यी दुई देशबीच रुस–युक्रेन युद्धलाई लिएर थप सन्तुलन बिग्रिने देखिन्छ।

गत महिना मात्रै टोकियोमा दुवै देशले सुरक्षा वार्ता गरेका थिए। दुई देशबीच चार वर्षयता पहिलो पटक यस्तो वार्ता भएको हो।

जापानले आफ्नो सेनालाई बलियो बनाउँदै लगेकोमा चीनले चासो ब्यक्त गरेको थियो भने जापानले रुसी सेनासँग चीनको सम्बन्ध र शंकास्पद जासुसी बेलुनको प्रयोगको बारेमा चासो राखेको थियो। यसले के स्पष्ट पार्छ भने चीन र जापान एक आपसमा राजनीतिक, सामरिक र सुरक्षाको चासो र सूचना लिएर बसेका छन्। र एक आपसबाटै खतरा महसुस गरेका छन्।

चीन र जापान विश्वका क्रमश: दोस्रो र तेस्रो ठूला अर्थतन्त्र भएका मुलुक हुन्।

युक्रेन युद्धको बारेमा जापानको आफ्नै चिन्ता छ। रुसको आक्रमण र ताइवानलाई चीनले गरेको आक्रमण प्रयासलाई निकै नराम्रो अवस्थामा तुलना गरिँदैछ र जापान पनि यो अवस्थामा तानिने भएकोले चिन्तित देखिएको बीबीसीले बताएको छ। अमेरिकाका उच्च अधिकारीको निरन्तर ताइवान भ्रमणले चीन ताइवानलाई सैन्य आक्रमणमार्फत आफ्नो बनाउने उद्देश्यमा छ। तर त्यसका लागि ऊसँग आफू अनुकुलको समय भने बनिसकेको छैन।

यता, जापान र चीनले एक आपसका सम्बन्धलाई लिएर जसरी चिन्ता प्रकट गरिरहेका थिए, त्यो बीचमा मंगलबार दुवै नेता कहाँ थिए, यसले आफैंमा धेरै कुरा भन्ने जानकारहरु बताउँछन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment