प्रतिभावान खेलाडीलाई समेट्दै टोली निर्माण गर्छु : फुटबल प्रशिक्षक भिन्सेन्जो

३० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले नेपालमा भएको खेलाडीलाई समेट्दै राष्ट्रिय टोलीको निर्माण गर्ने बताएका छन्।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले चलिरहेको सहिद स्मारक ए डिभिजन लिग र विगतका खेलबाट उनीहरुले गरेको प्रदर्शनको आधारमा टिम निर्माण गर्ने बताए।

राष्ट्रिय टोलीका अधिकांश खेलाडी पलायन भएको अवस्थामा टोली सम्हाल्न नेपाल आएका भिन्सेन्जोले जारी सहिद स्मारक ए डिभिजन लिग र विगतका प्रतियोगितामा खेलेका खेलाडीलाई समेट्दै टोली बनाउने बताए। प्रशिक्षक भिन्सेन्जोले प्रशिक्षक बन्नका लागि अवसर खोजिरहेको र तीन वर्षदेखि नेपाली फुटबल पछ्याइरहेकाले नेपाली आउन चाहेको समेत बताए।

उनले भारतीय आई लिगमा नेपाली खेलाडीको प्रतिभा देखेको र चलिरहेको ए डिभिजन लिगमा पनि आपूmले सम्भावना बोकेका खेलाडी भेटेकोसमेत उल्लेख गरे।

यस्तै राष्ट्रिय टोलीका केही खेलाडीहरु विदेश गएको अवस्थामा कसरी टोली निर्माण गर्नुहुन्छ? भन्ने प्रश्नमा प्रशिक्षक भिन्सेन्जोले टिम बनाउँदा सम्पूर्ण रुपमा नयाँ नसकिने र एकै पटक धेरै नयाँ खेलाडीलाई मात्र समेटेर बनाउन कठिन हुने बताए।

उनले विदेश गएका खेलाडीसँग सम्पर्क गर्ने प्रयास गर्ने समेत बताए। प्रशिक्षक भिन्सेन्जोले नेपाल आउनुको लक्ष्य धेरैभन्दा धेरै खेलमा नेपाललाई सुखद् नतिजा दिलाउने र नेपालले विगतमा हासिल गर्न नसकेको सफलता दिलाउँदै करियर सुधार गर्ने लक्ष्य रहेको उल्लेख गरे।

नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा नेपालले पहिलो घरेलु मैदानमा नेपाल, लाओस र भुटान सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ।

प्रशिक्षक भिन्सेन्चोलाई एन्फाले मासिक तलबबाहेक खानेबस्ने र आउने जाने व्यवस्था गरेको गरेको छ। प्रशिक्षकका आवश्यक पर्ने बजेट हालका लागि एन्फाको आन्तरिक स्रोतबाट व्यवस्था गरेको छ। प्रशिक्षकको सम्झौता एक वर्षका लागि गरिएको हो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment