जनयुद्ध दिवस मनाएकोप्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि, भन्छन्– त्यो हिंसा दिवस हो

११ फागुन, काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै ओलीले अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको टिप्पणी गरे।

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर भक्तपुरको बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले त्यस्ता कार्यलाई सही भन्न नसकिने बताए।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नु पर्‍यो? भनेर प्रश्न समेत गरे।

हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि ओलीले उल्लेख गरे। ओलीले फागुन १ गतेलाई ‘हिंसा दिवस’को संज्ञा दिए।

ओलीले भने– ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई फेरिदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍यो। त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृति नछुटेको देखिन्छ। जुन कुरा चाहिँ सही होइन। सरकारले किन त्यो गर्‍यो? आकास्मिक रुपमा त्यो किन गर्नु पर्‍यो? आफैंले त्यो बाटो छोडेर शान्ति प्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्न पर्‍यो? त्यो मैले पनि बुझेको छैन। यसले सम्झी सम्झीकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएको जस्तो मात्रै लाग्छ मलाई। जेहोस् नेपाल हिंसाको पक्षमा हुन सक्दैन। नेपाली जनतामा परस्परमा लडन्, लडाउने कुरालाई स्विकार गर्न सकिँदैन। हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन । र, भोलि पनि सम्भव छैन।’



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment