शेर्पा समुदायको नयाँ वर्ष: आज ग्याल्पो ल्होसार मनाइँदै

०९ फागुन, काठमाडौं । आज (मंगलबार) ग्याल्पो ल्होसार पर्व। शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउने गरिन्छ। शेर्पा समुदायले नयाँ वर्षका रूपमा २१५० औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन्।

मुसा, गाइ, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो। ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम गरी मनाइन्छ।

ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेकी छन्।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्याल्पो ल्होसारको अवसरमा शेर्पा समुदायसँगै आम नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता, सहकार्य एवम् समृद्धिको शुभकामना कामना व्यक्त गरेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment