पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भएन : सेयर लगानीकर्ता

०१ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार माग सम्बोधन हुन नसकेको लगानीकर्ताहरुले बताएका छन्।

शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा पुँजीबजारमा देखिएको नीतिगत समस्या सुधार हुने अपेक्षा लगानीकर्ताको रहे पनि अपेक्षानुसार नभएको भन्दै उनीहरुले गुनासो गरेका हुन्।

गत आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर मार्जिन धितोकर्जामा लागू भएको ४/१२ करोडको सीमा खारेज हुनुपर्छ भन्ने माग लगानीकर्ताहरुको रहेको थियो। तर, चालू आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमा खारेज भए पनि १२ करोडको सीमा कायम रहेकाले त्यो पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा हट्ने अपेक्षा भएपनि राष्ट्र बैंकले सम्बोधन नगरेर सेयर लगानीकर्तालाई राष्ट्र बैंकले उपेक्षा गरको आरोप लगाए।

नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष तथा सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सेयर लगानीकर्ताको माग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि राष्ट्र बैंकले सम्बोधन नगरेर उपेक्षा गरेको बताए।

उनले अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरु अर्थतन्त्रमा कहिँ सहज हुँदा पुनारवलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा र चासो भए पनि अपेक्षा अनुसार नआएको गुनासो गरे। उनले नेपालका पुँजीबजारका संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि राष्ट्र बैंकले कार्यविधि बनाउँदा सेयर लगानीकर्ताको मागलाई सम्बोधन गर्नेमा विश्वास गरेको उल्लेख गरे।

पौडेलले नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति न्युन रहेको भन्दै व्यक्तिगत लगानीकर्ताको तुलनामा ६ देखि ७ प्रतिशत पनि नरहेकाले सरकारले प्रोत्साहन गर्न आवश्यक माग गरे।

उनले ४/१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो असर नगरेको बताए। अहिले पुँजीबजार न्यून बिन्दुबाट माथिल्लो बिन्दुमा प्रवेश गरिरहेको अवस्थामा र बहुसंख्यक व्यक्तिगत लगानीकर्ता रहेको कारणले सेयर बजारमा प्रभाव नपर्ने उनको भनाइ छ।

उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् पुँजीबजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरे मात्रै पुँजीबजारको दिगो विकास हुनसक्ने बताए।

त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सेयर लगानीकर्तालाई उपेक्षा गरेको बताइन्।

उनले सेयर लगानीकर्ताले ४ वटा माग राख्दासमेत राष्ट्र बैंकले सम्बोधन नगर्नु सेयर बजारप्रति उपेक्षा भएको आरोप लगाइन्। आफूहरुले राखेको ४/१२ को नीतिमध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाई नभएको उनको गुनासो छ।

उनले सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनुपर्ने भन्दै राष्ट्र बैंक निर्देशिकामा सम्बोधन गर्ने आशा रहेको पनि बताइन्।

लगानीकर्ता संघहरुले १२ करोड (१२ करोड) सम्मको सेयर कर्जाको सीमाले सेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता गरिनुपर्ने उनको माग छ।

अध्यक्ष पोखरेलले विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा ल्याउनुपर्ने बताइन्।

उनले वर्तमान सरकारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएपश्चात पुँजीबजारमा नीतिगत सुधार हुन्छ भन्ने अपेक्षा रहेको उल्लेख गरिन्।

सेयर लगानीकर्ता अहिले निराशा हुनुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ। उनले सेयर लगानीकर्ताले चाहेको र बजार बुझेको अर्थमन्त्री भएकाले अर्थमन्त्रीले पुँजीबजारमा रहेका नीतिगत समस्यालाई समाधान गर्नेमा आशा रहेको उल्लेख गरिन्। उनले मौद्रिक नीतिको समीक्षामा लगानीकर्तालाई सम्बोधन नगर्दैमा लगानीकर्ता निराश भएर बजारबाट भाग्न नहुने बताइन्।

अध्यक्ष पोखरेलले नेपालको पुँजीबजार राजनीतिक इगोको कारण पनि धरासायी बनाउने काम भइरहेको बताइन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment