कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड, थपिए ८९ हजार ६४० सेयरधनी

१९ माघ, काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडमा ८९ हजार ६४० जना थपिएका छन् । कम्पनीले माघ ३ देखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको सेयर बाँडफाँडमा उक्त संख्याका आवेदकले सेयर पाएका हुन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको कार्यलय नारायणचौर नक्सालमा आईपीओ बाँडफाँड भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम भएको बाँडफाँडमा ८९ हजार ६४० जना आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले ८ लाख ९६ हजार ४०० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण गरिएको हो ।

बिक्री प्रबन्धकका अनुसार आईपीओमा १४ लाख ७३ हजार ९६९ जना आवेदकहरुबाट १ करोड ६६ लाख ७० हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । जसमध्ये दोहोरो आवेदन र रितपुर्वक नपरेका ८ हजार २०६ आवेदकहरुको आवेदन रद्द गरी १४ लाख ६५ हजार ७६३ वटा आवेदनलाई योग्य ठहर भई बाँडफाँडमा सहभागि गराइएको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । जसमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भैसकेको छ ।

यस्तै ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियो । ८ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बाँडफााड गरिएको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment